चीनले रिहा गर्‍यो झडपका क्रममा पक्राउ परेका १० भारतीय सैनिक

भारत-चीन सीमाको गल्वान उपत्यकामा भएको सैन्य झडपका क्रममा चिनियाँ सैनिकको नियन्त्रणमा पुगेका १० भारतीय सैनिकलाई चीनले रिहा गरेको संचारमाध्यमहरूले जनाएका छन्।

सोमबार सीमा विवादलाई लिएर दुबै सैनिकबीच झडप हुँदा २० सैनिकले त्यहाँ ज्यान गुमाएका थिए।

दुबै देशकाबीच उच्च तहमा भएको कयौं चरणको छलफलपछि उनीहरूलाई रिहा गरिएको हो। ती सैनिकहरूलाई बिहीबार अबेर रिहा गरिएको हो।

भारत सरकारले यसबारेमा कुनै प्रतिक्रिया नदिए पनि भारतीय सेनाले भने घटनामा कुनै पनि भारतीय सैनिक बेपत्ता नभएको बताएको छ।

भारतीय पत्रिका ‘द हिन्दु’ले दुबै देशका सेनाका मेजर जनरल तहमा भएको कुराकानीपछि उनीहरूलाई रिहा गरिएको जनाएको छ।

पछिल्लो झडपका लागि दुबै देशले एकअर्कालाई आरोप लगाएका छन्।

सोमबार भएको झडपलाई सन् १९६२ मा भएको चीन-भारत युद्धपछिकै ठूलो सैन्य टकराव मानिएको छ।

घटनापछि भारतमा चिनियाँ सामान बहिष्कार आवाज उठेको छ। यसैगरी भारतका दुई शहरमा चीनको झण्डा र चिनियाँ राष्ट्रपतिको पोस्टर जलाइएको छ।