गौरादहका सचेत युवाले नगरपालिकाको गराए ध्यानाकर्षण

झापा: गौरादह नगरपालिका वार्ड नं. १ मा समुदायमा कोरोना फैलिएको आशंका बढेपछि स्थानीय युवाहरू  चिन्तित देखिएका छन् ।

 

वडा नं. १  पेट्रोल पम्प आसपास घर भएकी ६७ वर्षीय महिलालाई कोरोना पुष्टि भएपछि स्थानीय क्षेत्रमा त्रासको वातावरण सृजना भएको हो । सोमबार साझ ती महिलामा कोरोना पुष्टि भएको खबर सार्वजनिक हुने बित्तिकै नगरपालिकाले माइकिङ गरेर स्थानीय क्षेत्रलाई सिल गरेको छ । रात्रीकालिन अवस्थामा समेत ईलाका प्रहरी कार्यालयले स्थानीयलाई सचेत रहन आग्रह गर्दै माइकिङ गरेको छ ।

 

मंगलबार बिहानै नगर स्वास्थ्य शाखाले १०५ जनाको पिसिआरको लागि स्वाव संकलन गरेको बताइएको छ । स्वाव संकलन गरिएता पनि  संक्रमितको छर छिमेकमा रहेका स्थानीयको स्वाव संकलन नगरिएको भन्दै स्थानीय युवाले नगरप्रमुख समक्ष ध्यानाकर्षण पत्र बुझाएको वताइएको छ ।

 

स्थानीय सचेत युवाले ध्यानाकर्षण पत्र बुझाउदै आफुहरुको स्वास्थ परिक्षण तत्काल गर्न समेत माग गरेका छन् । ‘संक्रमितको छिमेकीहरु कन्ट्याक ट्रेसिङमा परेनन् भन्नू जायज हुँदै होइन, ‘अन्यत्रको स्वाव संकलन गर्ने तर हामी छिमेकीलाई वास्तै नगर्नु ले थप त्रास बढेको छ, तत्काल स्वाव लिइयोस्’, सचेत युवा समुहका तर्फ बाट स्थानीय युवा निगेस श्रेष्ठले ओमकार टाइम्सलाई बताए ।

 

ध्यानाकर्षण बारे ओमकार टाइम्स संग कुरा गर्दै मेयर रोहित कुमार साहले भने, ‘१०५ जनाको स्वाव संकलन भएको छ, म आफै फिल्डमा गएर स्वाव लिएको छु , बाकी जानकारी स्वास्थ्य शाखाका कर्मचारीलाई सोध्नुहोस् ।’

 

नगरपालिकाले कोरोना देखिएकी महिलाको सम्पर्कमा आएका सम्पूर्ण नागरिकको स्वाव परिक्षण गराउने र प्रतक्ष्य सम्पर्कमा आएकाहरुलाई क्वारेन्टाइनमा राखेर उच्च सतर्कता नअपनाउने हो भने गौरादहको स्थिति भयावह नबन्ला भन्न सकिँदैन ।