
एजेन्सी । आज विहिबार विश्वको सबैभन्दा ठूलो लोकतान्त्रिक देशको भावि सरकार कसले बनाउनेछ तय हुदैंछ । भारतका ९० करोड मतदातामध्य ६० करोडभन्दा बढीले चुनावमा सहभागीता जनाएका थिए । तिनले हालेको मत भोटिङ मेसिनमा सुरक्षित रहेकोमा आज परिणाम सार्वजनिक हुनेछ ।
सन् २०१९ को भारतीय लोकसभा चुनाव अन्तर्गत ५४२ संसदीय सिटमा भएको मतदानको गन्ती विहिबार भारतीय समय अनुसार विहान ८ बजेबाट सुरु हुदैंछ ।
यस पटक इलोक्ट्रोनिक भोटिंग मेसिन(ईभीएम) गणनालाई ‘भोटर–भेरिफाइड पेपर अडिट ट्रेल(भीभीप्याट)’सँग मिलाएर गर्न लागिएकाले सम्पूर्ण परिणाम आउन समय लाग्ने छ । तर पनि साँझसम्म परिणाम आउने सम्भावना छ ।
मत परिणाम सार्वजनिक भएपछि असन्तुष्ट समुहबाट हुन सक्ने हिंसाका लागि भारतको केन्द्रीय गृह मन्त्रालयले तयारी गरेको छ । मन्त्रालयले भारतका सबै प्रदेशका मुख्य–सचिव र प्रहरी महानिर्देशकलाई विहिबार हिंसा भडकिन सक्ने भन्दै उच्च सतर्क रहन पत्र पठाएको छ ।
सन् २०१९ को लोकसभा चुनाव सात चरणमा ६ हप्तासम्म चलेको थियो । अप्रिल ११ मा पहिलो चरणको मतदान भएर सुरु भएको निर्वाचन मे १९ मा अन्तिम चरणको मतदान भएर निर्वाचन सम्मन्न भयो ।
पहिलो चरणमा ९१, दोस्रो चरणमा ९७, तेस्रोमा ११७, चौथो चरणमा ७१, पाँचौंमा ५१ र छैठौं–सातौंमा समान ५९ सिटमा मतदान भएको थियो । कुल ५४३ सिटमध्य तमिलनाडुको भेल्लोर सिटमा भने सुरक्षा कारणले मतदान सरेको अवस्था छ ।