
काठमाडौँ — विवाद समाधान खोज्न भन्दै दिनहुँ छलफल गर्दै आएका नेकपाका दुई अध्यक्षबीच बुधबार पनि कुनै सहमति जुट्न सकेन ।
प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा करिब तीन घण्टा छलफल भएपनि कुनै ठोस सहमति जुट्न नसकेको दाहालका प्रेस संयोजक विष्णु सापकोटाले बताए । सापकोटाका अनुसार बिहीबार फेरि दुई अध्यक्षबीच छलफल हुने भएको छ ।
दुवै अध्यक्षबीच मंगलबार पनि छलफल भएको थियो । तर, मंगलबार सामान्य छलफल गरेका ओली र दाहालबीच बुधबार भने विषयवस्तु केन्द्रीत छलफल भएको सापकोटाले जानकारी दिए ।
दुई अध्यक्षबीच सहमति गर्न भन्दै साउन २ सम्मका लागि बैठक स्थगित भएको छ । गत साता पनि ओली र दाहालले लगातार तीन दिन छलफल गरेका थिए ।
असार १० बाट सुरु भएको स्थायी कमिटी बैठकमा दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताले प्रधानमन्त्री तथा अध्यक्ष दुवै पदबाट ओलीको राजीनामा मागेपछि नेकपामा विवाद छ । ओलीले अहिलेसम्म दुवै पद नछाड्ने अडान लिएका छन् ।
दुई अध्यक्षबीचको छलफलमा केही बेर महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मा पनि सहभागी थिए । महासचिव पौडेलले दुई अध्यक्षबीचको छलफल सकारात्मक भए पनि अझै निष्कर्षमा पुग्न नसकेको बताए ।