
एजेन्सी – अष्ट्रेलियाले विदेशी विद्यार्थीहरुलाई लक्षित गरी भिसासम्बन्धी नियमहरु परिवर्तन गरेको छ ।
कोरोना भाइरसको महामारीले विदेशी विद्यार्थीहरूको संख्यामा आएको गिरावटले शैक्षिक क्षेत्र धराशायी हुन सक्ने आकलानपछि अष्ट्रेलियाले भिसासम्बन्धी पाँचवटा नियमहरुमा परिवर्तन गरेको हो ।
महामारीका कारण धरमराउँदै गएको अष्ट्रेलियाको शैक्षिक क्षेत्रलाई पुनर्जीवन दिन र अष्ट्रेलियालाई अन्तर्राष्ट्रिय विद्यार्थीहरुको प्रमुख गन्तव्यका रुपमा कायम गरिराख्न नयाँ नियमहरु परिवर्तन गरेको आप्रवासनमन्त्री अलान टुजले बताएका छन् ।
विदेशी विद्यार्थीहरुले अष्ट्रेलियाको अर्थतन्त्रमा करिब वार्षिक ४० अर्ब डलरको योगदान गर्दै आएका छन् । विदेशी विद्यार्थीहरुको संख्यामा आएको कमीले पछिल्लो ५ महिनामा अष्ट्रेलियाका विश्वविद्यालयहरुले करिब १६ अर्ब अष्ट्रेलियन डलर घाटा व्यहोरेको बताएका थिए ।
सोमबार ल्याइएको नयाँ नियमअनुसार अष्ट्रेलिया बाहिरबाट विद्यार्थी भिसा आवेदन गर्नेहरुलाई भिसा दिने प्रकृया पुन सुरू गरिने छ ।
परिवतर्न गरिएको नयाँ नियमअनुसार महामारीका कारण अध्ययन पुरा नभई विद्यार्थी भिसा अवधि सकिएकाले पुन: विद्यार्थी भिसाका लागि आवेदन दिँदा शुल्क लाग्ने छैन । यसले महामारीका कारण आर्थिक संकटमा परेका विद्यार्थीहरुलाई भिसा अवधि थप्न केही राहत हुनेछ ।
यस्तै अष्ट्रेलिया बाहिरबाट अनलाइनमार्फत अध्ययन गरेका विदेशी विद्यार्थीहरु अध्ययन सकिएपश्चात पाइने पोष्ट स्टडी वर्क भिसाका लागि योग्य हुनेछन् । यसअघि पोष्ट स्टडी भिसाका आवेदनका लागि अनिवार्यरुपमा कलेज गएको, शिक्षालयमा भौतिक उपस्थिति भएको जस्ता प्रकृया पूरा गर्नु पर्दथ्यो ।
यो नयाँ नियमअनुसार महामारीले अंग्रेजी भाषा परीक्षाको नतिजा प्रभावित भएकाहरुका लागि थप समय दिइनेछ ।
यकिन तथ्यांक नभए पनि महामारीका कारण नेपालमा एक हजारभन्दा बढी अष्ट्रेलियाको भिसा पाइसकेका विद्यार्थीहरु अष्ट्रेलिया जान पाइरहेका छैनन् ।