अख्तियारमा कार्यरत १५ जनामा कोरोना पोजेटिभ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालमा कार्यरत १५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १८२ जनाको स्वाब संकलन गरेर पीसीआर परीक्षण गर्दा १५ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले १५ जना सुरक्षाकर्मीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिँदै भने, ‘संक्रमित हुनेहरुमा सुरक्षाकर्मीको संख्या धेरै छ ।’

अख्तियारको अप्रेसनका लागि खोटाङ गई फर्किएका एक प्रहरी अधिकारीमा कोरोना संक्रमण भएपछि उनको सम्पर्कमा रहेकाहरुको स्वाब संकलन गरी परीक्षण गरिएको थियो । थप संक्रमितको कन्याक ट्रेसिङ सुरु गरिएको अख्तियार स्रोतको भनाइ छ ।

त्यस्तै मंगलबार स्वास्थ्य मन्त्रालय अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्यरत सबैको स्वाब संकलन गर्ने तयारी गरेको छ ।