३५ कर्मचारीमा कोरोना देखिएपछि अख्तियारको कार्यालय सिल

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सिल गरिएको छ । आयोगका ३५ कर्मचारीमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिएपछि कार्यालय सिल गरिएको हो ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका मेडिकल टेक्नोलोजिस्ट धनप्रसाद पौडेलले मंगलबार गरिएको ८० जनाको परीक्षणमा २० जना कर्मचारीको संक्रमण देखिएको जानकारी दिए । यसअघि आयोगमा १५ जना कर्मचारीमा संक्रमण देखिएको थियो । ती संक्रमण देखिएका अधिकांश अग्रपंक्तिमा काम गर्ने कर्मचारी र सुरक्षाकर्मी छन् ।

अख्तियार कार्यालय सिल गरिएपछि अत्यावश्यक कामबाहेक अन्य कर्मचारी, प्रमुख आयुक्त, आयुक्तहरू पनि कार्यालय गएका छैनन् ।