
तस्बिरमा देखिएको दृश्य गौरादह नगरपालिका परिसरको हो । दृश्यमा पछाडी वारुण यन्त्र छ र अगाडीको भागमा मोर्टर साइकलहरु यत्रतत्र पार्किङ गरिएका छन् । वारुण यन्त्र आकस्मिक समयमा प्रयोग गरिने साधन हो । जसको पार्किङ खुला र डिस्ट्रब नहुने स्थानमा गरिनुपर्छ भन्नू सामान्य मान्यता नै हो तर दमकल जस्तो संवेदनशील सवारीसाधनको पार्किङमा उचित ध्यान नदिनु विडम्बनापूर्ण भए पनि अनियमितता र वेथितीको चाङमा डुबेको नगर प्रशासनलाई यस तर्फ ध्यान पुगेको भने देखिदैन ।
गौरादह नगरपालिका संग १ थान वारुणयन्त्र रहेको छ । कहि समय अगाडी सम्म गौरादह बजार स्थित वडा १ कार्यालय संगै राख्ने गरिएको थियो । उक्त स्थान साघुरो भएकै कारण वारुणयन्त्रलाई नगरपालिका भवन रहेकै स्थानमा सारिएको छ ।
खुल्ला स्थानमा राखिएको भएता पनि नगर कर्मचारी तथा जनप्रतिनिधिहरुले नै वारुण यन्त्रको ठ्याक्कै अगाडी मोर्टर साइकल पार्किङ गरिदिए पछि वारुण यन्त्र संचालकहरु समेत हैरान हुने गरेको दृश्य स्थानीयले देख्ने गरेका छन् ।
आकस्मिक टेलीफोन आएपछि हतार हतार निस्किने कि मोर्टर साइकल हटाउने भन्ने चिन्ताले निकै सास्ती भोग्नु परेको बताइन्छ ।
सधैं भिड हुने ठाउँ नगरपालिका। नगरपालिकामा सेवा लिन अाउनेले यसरी दमकल नै छेकिने गरि सवारी साधन राख्नाले इम्मरजेन्सिमा दमकल निकाल्नु परे समस्या हुने देखिन्छ।
जथाभावी सवारी साधन पार्किङ गरिएको बारेमा वारुणयन्त्रका कर्मचारीहरुलाई भने हिजोआज त्यति समस्या नरहेकोे बताउछन् । पहिले पहिले यस्तो समस्या आएकै हो, तर अहिले खासै छैन, उनीहरु बताउछन् । वारुण यन्त्रका कर्मचारीले समस्या छैन भनिरहदा नगरपालिका आउने सेवाग्राहीले आफ्ना सवारीसाधन कता पार्किङ गर्छन् भन्ने विषय महत्त्वपूर्ण देखिएको छ । नगरपालिकामा सेवा लिन आउने सेवाग्राहीहरु भने यसलाई सामान्य रूपमा लिनु नहुने धारणा राख्छन् ।
‘म जहिले आउदा पनि १९/१५ वटा मोर्टर साइकलले बाटो छेकेको देखिन्छ, यस्तो अवस्थामा राखिएको दमकलले बाटो बनाउदा बनाउदै १५/२० मिनेट समय खेर जान सक्छ’, त्यतिका समयमा करोडौंको धनमाल वारुणयन्त्रले जोगाउन पनि सक्छ ।’ नगरपालिका सेवा लिन आएका एक जना सेवाग्राहीले बताए ।
त्यसो त सञ्चारकर्मीले पार्किङमा देखिएको समस्या बारेमा सोधपुछ गर्दैगर्दा एकजना कर्मचारीले सोही स्थानमा आएर मोर्टर साइकल पार्किङ गर्छन् र दमकलकै अगाडी किन गाडी राख्नु भएको भन्ने जिज्ञासामा पत्रकार माथि नै खस्रो बोली बोल्दै जंगिएर कार्यालय तर्फ लाग्छन् ।
नगरपालिकामा सेवा लिन पुगेका गौरादह ८ का युवराज बास्तोला नगरपालिकाले पार्किङको तत्काल व्यवस्था गर्नुपर्ने बताउछन् । उनि भन्छन् , ‘म पनि विभिन्न कामले नगरपालिका आइरहन्छु। तर कहिले दमकलको अगाडि म मोटरसाइकल राख्दिन।’ ‘यति धेरै खालि ठाउँछ। २/४ गाडी गिटि झारेर पार्किङ किन बनाउन सकिदैन ?’
सधैं व्यस्त भइरहने गौरादह नगरपालिकाले सवारी साधन यहाँ पार्किङ गर्नुहोस् भनेर कुनै बोर्ड समेत राखेको पाइदैन । भएको सानो बोर्ड पनि भुईमा फ्याकिएको देखिन्छ ।
‘नगरपालिकाका कर्मचारी र प्रमुख पनि यहीँ बाटो भएर हिड्दा समेत किन कसैको ध्यान जादैन यस तर्फ। सम्बन्धि निकायले बेलैमा ध्यान जान जरुरी छ। नभए यसरि नै सवारी साधनले दमकल छेकिएमा सुरुमा भने झै दसा कहिले बाजा बजाएर आउँदैन।’, कार्यालयमा सेवा लिन आएका सेवाग्राहीले चिन्ता व्यक्त गरे ।
दसा बाजा बजाएर आउदैन र दसा कुन प्रकृतिको हुन्छ भन्ने पनि कसैलाई जानकारी हुँदैन, आकस्मिक अवस्थामा प्रयोगमा ल्याइने दमकल जस्तो सवारीसाधनको उचित हेरफेर हुनु जरुरी रहेकोे सरोकारवालाको धारणा छ ।