
विराटनगर/ नेपालमा कोरोना भाइरसका कारण थप २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा र बर्दियाका एक/एक जना कोरोना संक्रमित छन् ।
मृत्यु हुनेमध्ये एक जना मोरङस्थित विराट शिक्षण अस्पतालको आइसोलेसनमा उपचाररत झापाका एक बृद्ध हुन् । झापाको भद्रपुर नगरपालिका वडा नम्बर १० का ८६ वर्षीय पुरुषको आज बिहान करिब ६ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । मृतक बृद्धमा उच्च रक्तचाप, मधुमेह र मृगौलाको समस्या रहेको बताइएको छ ।
त्यस्तै, बर्दियाका एक कोरोना सङ्क्रमितको कोहलपुरमा उपचारका क्रममा हिजो राती मृत्यु भएको छ । बर्दिया ठाकुरबाबा नगरपालिकाका ६४ वर्षीय पुरुषको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभएको हो । यो संगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनको संख्या ४ सय ५१ पुगेको छ ।