सरकारले ल्याएको बजेटको चर्को आलोचना, प्रतिपक्षी भन्छ ` समृद्धिको लक्ष्य पूरा गर्दैन´

काठमाडौं । प्रतिपक्षी दलका सांसदहरुले सरकारले ल्याएको बजेटप्रति आलोचना गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी सांसदहरुले आर्थिक वर्ष २०७६/७७ को राजश्व र व्ययको वार्षिक अनुमान विधेयकमा छलफल गर्दैै मुलुकको समृद्धिको उद्देश्य पूरा नहुनेतर्फ ध्यानाकर्षण गराएका छन् ।

नेपाली कांग्रेसका सांसद डा. मीनेन्द्र रिजालले सरकारको आधारबर्ष पछिको बजेटले इतिहास निर्माण गर्ने बाटो समात्न नसकेको टिप्पणी गर्नुभयो । उहाँले बजेटमा पूँजीगत खर्च बढाउने क्षमता प्रस्ताव नगरिएको बताउनुभयो ।

राष्ट्रिय जनता पार्टीका सांसद महन्थ ठाकुरले सम्मृद्ध तराई मधेस कार्यक्रम बजेटमा समावेश नभएकोतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले अहिले पनि मधेसमा संचालन भईरहेको सम्मृद्ध तराई मधेस कार्यक्रम बजेटमा नआएको भन्दै त्यसबारे अर्थमन्त्रीसंग जिज्ञासा राख्नुभयो ।

सांसद ठाकुरले सिंचाईका लागि मधेसका गाउ गाउमा पोखरी रहेको भन्दै ऐतिहासिक र धार्मिक सांस्कृतिक महत्व बोकेका पोखरी संरक्षण र मर्मत सम्भारमा ध्यान दिन नसकेको आरोप लगाउनुभयो ।