कांग्रेस केन्द्रीय कार्यालय सानेपामा धर्ना

काठमाण्डौं। आगामी मंसीर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनको समानुपातिक सूची एक पक्षीय रुपमा निर्वाचन आयोगमा पेश गरेको भन्दै आन्दोलित नेपाली कांग्रेसका डाक्टर शेखर कोइराला पक्षधर नेता कार्यकर्ताले आज केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएका छन्।

कोइराला नेतृत्वको उक्त समूहले पार्टी कार्यालय सानेपामा धर्ना दिएको हो। कांग्रेसबाट समानुपातिकको बन्द सूचीमा अधिकांश संस्थापन पक्षका नेताहरु समेटिएपछि इतर पक्ष आन्दोलित छ।

इतर पक्षले संघदेखि प्रदेशसम्मको सूची सच्याउनुपर्ने अडान राखेको छ। इतर समूहका नेताहरुको नाम थोरै मात्रै समावेश गरिएपछि आफूहरुले कम्तीमा ४० प्रतिशत हिस्सा पाउनुपर्ने उनीहरुको अडान छ।

सभापति शेरबहादुर देउवा पक्षले सुरुमा राखिएका इतर समूहका नेताहरुको नाम पनि बन्द सूचीबाट हटाएको बताइएको छ।

दुई दिनअघि बसेको कोइराला नेतृत्वको समूहको बैठकले बुधबार मध्यान्ह १२ बजे पार्टी केन्द्रीय कार्यालय, सानेपामा एक घण्टा धर्ना दिने निर्णय गरेको थियो।

यो धर्नापछि भोलि बत्तिसपुतलीमा कोइरालाको टिममा रहेका पदाधिकारी र पूर्वपदाधिकारीबीच छलफल हुने बताइएको छ।

कोइराला समूहले टिकट वितरण न्यायोचित हुनुपर्ने माग राखेको छ। समानुपातिक बन्दसूची सार्वजनिक भएपछि इतर समूह आन्दोलित भएको हो।

इतर समूहले प्रदेश १ को समानुपातिक सूची पनि सच्याउनुपर्ने अडान राखेको छ। प्रदेशमा पनि अधिकांश देउवा पक्षका नेताहरु समेटिएपछि कोइराला पक्षले सूची नसच्याए आगामी निर्वाचनमा असहयोग गर्ने चेतावनी दिइसकेको छ।