
झापा : राजसंस्था, हिन्दुराष्ट्र स्थापना र संघीयता खारेजीको माग गर्दै झापामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले हजारौँ युवालाई सडक प्रदर्शनमा उतारेको छ ।
प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै राप्रपाका प्रतिनिधिसभा सदस्य राजेन्द्र लिंङ्देनले यो कास्टिङ मात्र भएको बताए । काँकड्भिट्टाबाट सुरु भएको र्यालीलाई विर्तामोडमा सम्बोधन गर्दै लिङ्देनले भने, ‘यो प्रदर्शन कास्टिङ मात्र हो। क्लाइमेक्स आउन बाँकी छ ।’
नेता लिङ्गदेनले प्रधानमन्त्री केपी ओली मात्र नभएर अहिलेको व्यवस्थानै असफल भएको आरोप लगायका छन् । उनले नेकपा अध्यक्ष ओली र प्रचण्ड जनताको भविष्य बर्बाद पार्न लागेको आरोप लगाए ।
‘यो देश अहिलेको व्यवस्थाले बिग्रियो भने केपी ओली र प्रचण्ड लगायतका नेतालाई केही फरक पर्दैन’, उनले भने, ‘जनताको वर्तमानदेखि भविष्य समेत बर्बाद पार्ने सुरमा नेता लागेका छन् ।’
लिङ्गदेनले अब राजसंस्था र हिन्दुराष्ट्र सबैको साझा भएको बताए । ‘हिन्दुराष्ट्र कुनै जात विशेषले मान्ने नभएकाले सबै नेपालीलाई बाध्ने एक मात्र शुत्र हिन्दुराष्ट्र हो’, उनले भने ।
शनिबार दिउँसो ३ बजे काँकरभिट्टाबाट सुरु भएको प्रदर्शनमामा १५ वटै स्थानीय तहबाट राप्रपाका कार्यकर्ता काँकडभिट्टामा भेला भएका थिए ।
मोटरसाइकल -यालीमा सहभागी सबैले ‘राजा आऊ देश बचाऊ, नारायणहिटी दरबार खाली गर’ लगायत नारा लगाएका थिए ।
राप्रपाका अर्का नेता राम थापाले अहिलेका नेता अपराधी भएको बताउँदै राप्रपाबाहेक अन्य दलका सबै नेतालाई कारागार पठाउनु पर्ने बताए । अन्नपूर्ण पोष्ट दैनिकमा राधा खनालले लेखेका छन् ।