
‘भ्रष्टाचार लाई नाई भनौं, हरेक नाई को मूल्य हुन्छ’ भन्ने मूल नाराका साथ आज (बुधबार) अन्तर्राष्ट्रिय भ्रष्टाचारविरुद्ध दिवस मनाइँदै छ ।
हरेक वर्षको डिसेम्बर ९ मा संसारभरि भ्रष्टाचारविरुद्धको दिवस मनाइने गरिन्छ । सन् २००३ मा संयुक्त राष्ट्रसंघको महासभाले आजको दिनलाई भ्रष्टाचार विरुद्धको दिवसका रुपमा मान्यता दिएको हो ।
नेपालले पनि २३ डिसेम्बर २०११ मा उक्त महासन्धिलाई अनुमोदन गरी पक्ष राष्ट्र भएपछि सो अनुसार अन्तर्राष्ट्रिय तहमा भ्रष्टाचारविरुद्ध सहयोग र सहकार्य गर्दै आएको छ । साथै, दिगो विकास लक्ष्य १६.३ मा राष्ट्रियस्तरमा कानूनी शासनको प्रवद्र्धन गरी न्यायमा पहुँच हुनुपर्ने विषयलाई प्राथमिकतामा राखिएकाले नेपालले पनि उक्त लक्ष्य हासिल गर्न राष्ट्रिय योजना आयोगलाई फोकल प्वाइन्ट नै तोकेर आवश्यक तयारी गर्दै आएको छ ।
नेपालले विगतदेखि नै भ्रष्टाचार नियन्त्रणमा नीतिगत र संस्थागत व्यवस्था गर्दै आए तापनि सो महासन्धिको पक्ष राष्ट्र भएपछि यस्ता निकायहरूलाई थप संस्थागत गर्ने नीति लिएको छ । साथै, त्यस्ता निकायलाई भौतिक, प्राविधिक तथा व्यावसायिक बनाउने प्रयास गरेको छ । तर, जनअपेक्षित नतिजा भने आउन सकेको छैन । भ्रष्टाचार बढेर जनतामा नैराश्य बढ्दै गएको छ ।
सन् २०१५ मा संयुक्त राष्ट्रसंघमा आबद्ध मुलुकहरूले १७ वटा लक्ष्यसहित दिगो विकास लक्ष्य २०३० पारित गरेका छन् । दिगो विकास लक्ष्य हासिल गर्न भ्रष्टाचार बाधक रहेको विभिन्न तथ्य सार्वजनिक भएका छन् । हरेक वर्ष विकासशील मुलुकमा एक खर्ब डलर र विश्वमा हरेक वर्ष दुई खर्ब डलर भ्रष्टाचार हुने गरेको विभिन्न अनुसन्धानले देखाएका छन् ।
नेपालको संविधान २०७२ को भाग २१ अन्तर्गत धारा २३८ मा आयोगको गठन सम्बन्धी व्यवस्था गरिएको छ भने धारा १३९ मा आयोगको काम, कर्तव्य र अधिकारबारे व्यवस्था गरिएको छ । संविधानमा भएको व्यवस्था बमोजिम कुनै सार्वजनिक पद धारणा गरेको व्यक्तिको भ्रष्टाचार गरी अख्तियारको दूरुपयोग गरेको उजुरी आएमा वा अनुसन्धानको क्रममा भेटिएमा अख्तियार दूरुपयोग अनुसन्धान आयोगले कानून बमोजिम अनुसन्धान गर्न वा गराउन सक्नेछ ।