ट्रम्प र बाइडेनका समर्थकबीच चक्कु हानाहान, चार घाइते

अमेरिकाका सबै ५० वटा राज्य एवं डिस्ट्रिक्ट अफ कोलम्बियाले हालै सम्पन्न राष्ट्रपति निर्वाचनको मतपरिणामलाई प्रमाणित गरिसकेको छ । मत परिणामअनुसार डेमोक्रेटिक नेता जो बाइडेन अमेरिकाको ४६ औं राष्ट्रपति बन्ने निश्चितपक्का भइसकेको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्प दोस्रो कार्यकालका लागि पराजित भएका हुन् । चुनावमा परातिज भएपछि पनि ट्रम्पले चुनावमा धाँधली भएको आफ्नो दाबीलाई छाड्न चाहिरहेका छैनन् । यसबीचमा शनिबार मात्र ट्रम्पका पक्षधर प्राउड ब्वाइज समुहले चुनावमा धाँधली भएको भन्दै वासिङटन डीसीका सडकहरुमा प्रदर्शन गरेको थियो । सो क्रममा बाइडेन पक्षधरका एन्टिफा काउन्टर प्रोटेस्टर समूहसँग प्राउड ब्वाइज समुहको झडप भएको थियो ।

यस झडपमा चक्कु हानाहान भएको त्यहाँको प्रहरीले जनाएको छ । प्रहरीले बल प्रयोग गर्दै झडपलाई तितरबितर पारेको थियो । प्रहरीले २३ जनालाई गिरफ्तार गरेको समेत जानकारी दिएको छ । झडपमा चार जनाको शरीरमा चक्कु प्रहार भएको बताइएको छ । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।