बार एसोसिएसनको मतदान शुरु

काठमाडौं : सर्वोच्च अदालत बार एशोसिएसनको नयाँ कार्यसमिति चयनका लागि मतदान शुरू भएकाे छ ।

नयाँ समितिका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट कानून व्यवसायी र कांग्रेस निकटका कानून व्यवसायीहरु अरु दलमा आवद्ध कानून व्यवसायसँगकोसमेत गठबन्धनमा प्यानलसहित चुनावी मैदानमा छन् ।

नेकपा निकट कानून व्यवसायीको संगठन नेपाल लयर्स एशोसिएसन (एनएलए) वरिष्ठ अधिवक्ता रविनारायण खनालको नेतृत्वको प्यानलसहित चुनावमा छ । कांग्रेस निकट कानून व्यवसायीको संगठन डेमोक्रेटिक लयर्स एशोसिएसन (डिएलए) ले वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यको नेतृत्वमा प्यानल छ ।

गएको जेठमा हुनुपर्ने चुनाव कोरोना भाइरसको महामारीका कारण अहिले हुन लागेको हो । ६०५ मतदाता रहेको सर्वोच्च बारको चुनावको मतदान सर्वोच्च परिसरमा दिउँसो ३ बजेसम्म हुनेछ । सर्वोच्च बारको कार्यसमितिले नेपाल बारको केन्द्रीय कार्यकारिणी परिषद सदस्यसमेत चयन गर्ने भएकाले महत्वपूर्ण मानिन्छ ।

पार्षदका लागि २१ जना प्रतिस्पर्धामा छन् । प्रगतिशील पेशागत कानून व्यवसायीको समूहका तर्फबाट वरिष्ठ अधिवक्ता रविनारायण खनाल अध्यक्षका उम्मेदवार छन् ।

यस्तै, प्रगतिशील समूहबाट उपाध्यक्षमा मुकुन्दप्रसाद पौडेल, सचिवमा अञ्जिता खनाल, सहसचिवमा शोभा कार्की र कोषाध्यक्षमा श्यामकुमार खत्री प्रतिस्पर्धामा छन् । महिला सदस्यमा देवी रेग्मी प्रतिस्पर्धामा उत्रेकी छिन् । प्रगतिशील समूहका सदस्यहरुमा कृष्णप्रसाद न्यौपाने, अनन्त कार्की, अनन्तराज लुइँटेल, तिलकविक्रम पाण्डे, दीपनारायण शाह, रमेशराज शर्मा, छबिलाल घिमिरे, लेखनाथ भट्टराई र दिलकुमारी राई प्रतिस्पर्धामा छन् ।

लोकतान्त्रिक समूहबाट वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य अध्यक्षका उम्मेदवार बनेका छन् । उपाध्यक्षमा नमराज रिजाल, सचिवमा ऋषिरम घिमिरे, सहसचिवमा शर्मिला श्रेष्ठ र कोषाध्यक्षमा विनोदकुमार कार्की प्रतिस्पर्धामा छन् । महिला सदस्यमा अमिता गौतम उम्मेदवार बनेकी छिन् ।

सदस्यहरुमा वियकुमार प्रधान, ज्योतिदेव पनेरु, ओमकृष्ण श्रेष्ठ, विकास भट्टराई, राजेन्द्रप्रसाद शाह, खडानन्द कँडेल, मिराज श्रेष्ठ, डा.रामहरि त्रिपाठी र निर्मला भण्डारी उम्मेदवार बनेका छन् । दुई प्यानलभन्दा बाहिरबाट उपाध्यक्षमा नानीबाबु दाहालले उम्मेदवारी दिएका छन् ।