अमेरिकाले ताइवानमाथिको प्रतिबन्ध हटाउने, चीनसँग तनाव बढ्ने संकेत

अमेरिकाले ताइवानका अधिकारीसँग एक देशका रूपमा सम्पर्क गर्न लगाएको प्रतिबन्ध हटाउने तयारी गरेको छ ।

अमेरिकी विदेश मन्त्रालयले एक वक्तव्य जारी गर्दै ताइवानसँगको कूटनीतिक सम्बन्धलाई पुनः सुरु गर्ने बताएको छ ।

चीनले ताइवानलाई आफ्नो एक अभिन्न अंग बताउँदै आएको छ । तर, ताइवानी नेताहरू एक सम्प्रभु देश भएको बताउँदै आएका छन् । सोही कारण चीनसँग कूटनीतिक सम्बन्ध रहेका देशले ताइवानसँग कूटनीतिक सम्बन्ध राख्न पाउँदैन ।

अमेरिकाको यो कदमबाट चीन रुष्ट हुने र दुई देशबीच तनाव बढ्ने अनुमान गरिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकाल १० दिन मात्रै बाँकी रहेको समयमा यो निर्णय गरेको हो ।

विदेशमन्त्री माइक पोम्पेओले भने, ‘आज म हामीले नै लगाएको प्रतिबन्ध हटाउने घोषणा गर्दछु । अब अमेरिका–ताइवानको सम्बन्धमा यस प्रकारको प्रतिबन्धबाट रोकावट आउने छैन ।’

पोम्पेओले ताइवान एक जीवित लोकतन्त्र र एक विश्वसनीय अमेरिकी साझेदार भएको र प्रतिबन्ध अब वैध नरहेको बताएका छन् । यो घोषणापछि ताइवानका विदेशमन्त्री जोसेफ वुले पोम्पेओलाई धन्यवाद दिएका छन् ।

उनले एक ट्विटमा लेखेका छन्, ‘ताइवान र अमेरिकाबीच घनिष्ठ साझेदारी हाम्रो साझा मूल्य, समान हित, स्वतन्त्रता र लोकतन्त्रमा अटल विश्वासमा आधारित छ ।’

गत अगस्टमा अमेरिकाका स्वास्थ्य र मानवसेवा मन्त्री एलेक्स अजार दशकौँपछि ताइवानमा बैठक आयोजना गर्ने शीर्ष अमेरिकी अधिकारी बनेका थिए । चीनले अमेरिकालाई ‘एक चीन नीति’ को सम्मान गर्न आग्रह गरेको छ ।

Liberty CollegeNCell
अमेरिकाले ताइवानलाई हतियार बेच्दै आएको छ । यद्यपि दुई देशबीच औपचारिक रक्षा सन्धि भएको छैन ।

सन् १९४९ मा माओ त्सेतुङ नेतृत्वमा चीनमा कम्युनिस्ट पार्टीको सत्ता स्थापना भएपछि तत्कालीन सरकारमा रहेका च्याङकाइ सेक भागेर ताइवानमा गएर सत्ता सञ्चालन गरेका थिए ।

त्यसको लामो समयसम्म पनि ताइवानलाई नै चीनको मान्यता थियो । तर सन् १९७० को दशकमा चीनलाई मान्यता दिइएपछि ताइवानसँग अमेरिकासहित विश्वका अधिकांश देशले कूटनीतिक सम्बन्ध तोडेका थिए ।