कांग्रेसले आफुभित्र भएको अन्तर्निहित शक्ति पहिचान गर्नुपर्दछ : नेता पौडेल

मोरङ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले आफुभित्र भएको अन्र्तनिहित शक्ति पहिचान गर्नुपर्ने बताउनुभएको छ ।

आईतबार विराटनगरमा गुराँस पुस्तकालयद्धारा प्रकाशित ‘बरगाछी’ नामक पुस्तकको लोकार्पण तथा सम्मान कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाली कांग्रेसले हनुमान जस्तै आफुभित्र भएको शक्ति पहिचान गर्दै यसको सिद्धान्त, निष्ठा र राजनितिक मुद्दाको आधारमा सक्षम र सशक्त भएर वर्तमान राजनितिक संकटसँग लडनुपर्ने जिकिर गर्नुभयो ।

नेता पौडेलले प्रतिनिधिसभा विघटन जस्तो अलोकतान्त्रिक कदमलाई अदालतले सदर गर्न नहुने पनि बताउनुभयो । संसद विघटनलाई अदालतले सदर गरे त्यो संविधानमाथि आजसम्मकै ठुलो प्रहार हुने उहाँको भनाई छ । उहाँले संसदीय लोकतान्त्रिक प्रणाली, लोकतन्त्रको मुल्य र मान्यतामा आधारित समाजवाद र धार्मिक तथा व्यक्तिगत स्वतन्त्रता रक्षाका लागी नेपाली कांग्रेस अब आफ्नै एजेण्डामा उभिने स्पष्ट पार्नुभयो ।

नेपाली कांग्रेस लोकतन्त्रको पहरेदार भएकाले संसद पुर्नस्थापनाको माग गर्नु कांग्रेसको दायित्व भएको नेता पौडेलले बताउनुभयो । कार्यकारी अधिकार लिएर बसेको व्यक्तिले संसद विघटन जस्तो असंवैधानिक कदमलाई राजनितिक निर्णयको नाम दिनु लज्जास्पद भएको उहाँको भनाई छ । उहाँले मुलुकको संविधानलाई घायल बनाउने कार्यमा प्रधानमन्त्री ओलीसँगै राष्ट्रपति विद्यादेवी भण्डारी पनि उत्तिकै दोषी रहेकी जिकिर गर्नुभयो । ‘राष्ट्रपतिले आफ्नो जिम्मेवारी पुरा गरिनन’ उहाँले भन्नुभयो, ‘राष्ट्रपतिले आफ्नो जिम्मेवारी पुरा नगरेको अवस्थामा अब अदालतले आफ्नो जिम्मेवारी बहन गर्नुपर्छ ।’

यस्तै कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. मिनेन्द्र रिजालले वर्तमान राजनितिक संकट कांग्रेसका लागी सुवर्ण अवसर भएको दाबी गर्नुभयो । उहाँले नेपालको राजनितिमा विद्यमान अप्ठयारो, भ्रष्टचार, अनियमितता र अस्थिरतालाई सही बाटोमा लैजान नेपाली कांग्रेसले अवसर प्राप्त गरेको उहाँको भनाई छ । लोकतान्त्रिक रुपान्तरणपछिका कम्युनिष्टहरु मात्र विकल्प रहने गरि नेपालको राजनितिलाई नेतृत्व गर्नेसक्ने अवसर नेपाली कांग्रेसले प्राप्त गरेको डा.रिजालले स्पष्ट पार्नुभयो ।

यस्तै डा. रिजालले मुख्यमन्त्री विरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावको पक्षमा नेपाली कांग्रेसले मतदान गर्ने बताउनुभयो । प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राई विरुद्ध नेकपाकै ३७ जना प्रदेशसभा सदस्यहरुले दर्ता गरेको अविश्वासको प्रस्तावको पक्षमा कांग्रेस उभिने डा. रिजालको भनाई छ । उहाँले अविश्वासको प्रस्ताव प्रदेशसभामा निर्णयार्थ पेश हुँदा कांग्रेस तटस्थ बस्ने प्रचार पनि गलत रहेको दाबी गर्दै प्रस्तावको पक्षमा उभिएर मत खसाल्ने दाबी गर्नुभयो । यसबारे आगामी माघ १३ गते बस्ने केन्द्रिय समितिको बैैठकले औपचारिक निर्णय गर्ने उहाँले जानकारी दिनुभयो ।

यस्तै कार्यक्रममा बोल्नुहुँदै नेपाली कांग्रेसकी केन्द्रिय सदस्य डिला संग्रौलाले आगामी १३ गतेको केन्द्रिय समितिको बैठकले निर्णायक आन्दोलनको घोषणा गर्नुपर्ने माग राख्नुभयो । उहाँले प्रजातन्त्र स्थापनाको जुनकिरीको रुपमा रहेको कांग्रेस सशक्त ढंगबाट प्रस्तुत हुँदा मात्रै मुलुक स्थिरता आउने धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा भने प्रजातान्त्रिक स्वतन्त्रता स्थापनाका लागी पञ्चायती शासन विरुद्धका योद्धा देवी डाँगी र कोरोना महामारीकाबिच संक्रमितहरुको घरघरमा गई सरसफाई तथा मृत्तकको शव व्यवस्थापनमा सक्रिय बरगाछी युवा समुहका ५ युुवाहरुलाई मुक्तिप्रसाद यदुनाथ चापागाँई सम्मान–पत्रले सम्मान समेत गरिएको थियो ।