विश्वभर कोरोना संक्रमितको संख्या १० करोड नाघ्यो

विश्वभरी कोरोना संक्रमितको संख्या १० करोड नाघेको छ । कोभिड-१९ बाट संयुक्त राज्य अमेरिका अति प्रभावित देशको सुचिमा परेको छ ।

अमेरिकामा २ करोड ५० लाख व्यक्ति कोरोना भाइरस संक्रमित छन् । यस भाइरसको संक्रमणको कारण अमेरिकामा ४ लाख २० हजार व्यक्तिको मृत्यु भएको छ । यद्यपी अमेरिकाका नव निर्वाचित राष्ट्रपति जो बाइडेनले कोरोना भाइरस विरुद्धको खोप कार्यक्रमलाई अगाडि बढाउने वाचा गरेका छन् ।

अमेरिकाको सम्पूर्ण जनसंख्यालाई खोप लगाउनु एक चुनौतीपूर्ण कार्य भएको र ट्रम्प प्रशासनबाट विरासतमा आएको यो कार्यक्रम अपेक्षा गरेको भन्दा खराब अवस्थामा भएको पनि उनले बताएका छन् ।

अमेरिकाले थप २० करोड डोज कोरोना भाइरसविरुद्ध खोप किन्दै छ र यसपछि लगभग ३० करोड अमेरिकीहरुलाई खोप दिन पर्याप्त हुने बाइडेनले बताएका छन् । कोरोना भाइरसको कारण बेलायतमा पनि एक लाख भन्दा बढी व्यक्तिको मृत्यु भएको बेलायतको सरकारी माध्यमले जानकारी दिएको छ ।

विश्वभर कोरोना भाइरस संक्रमणबाट २१ लाख भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । ७ करोड २९ लाख भन्दा बढी व्यक्ति कोरोना भाइरस मुक्त भएको ओल्डोमिटर्सले उल्लेख गरेको छ ।