
नेकपा प्रचण्ड–नेपाल पक्षले धनगढीमा शनिबार विरोधसभाको आयोजना गरेको छ। धनगढीको खुलामञ्चमा दिउँसो १२ बजेदेखि विरोधसभाको आयोजना गर्न लागेको नेकपा सुदूरपश्चिमले जनाएको छ। विरोधसभालाई नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
विरोधसभालाई सम्बोधन गर्न नेता नेपाल शुक्रबार धनगढी पुगिसकेका छन् भने प्रचण्ड शनिबार बिहान धनगढी अवतरण भइसकेका छन् । यस्तै प्रदेश इन्चार्ज भीम रावलले पनि विरोधसभालाई सम्बोधन गर्ने नेकपाले जनाएको छ। विरोधसभा सुरु हुनुपूर्व धनगढी चौराहदेखि खुलामञ्चसम्म र्याली समेत निकालिने बताइएको छ।
विरोधसभामा ५० हजारको जनसहभागिता हुने प्रचण्ड–नेपाल समूहको दाबी छ। प्रचण्ड–नेपाल समूहले विरोधसभालाई मध्यनजर गरि प्रहरीले सुरक्षा व्यवस्थामा कडाइ गरेको छ। शनिबार बिहानैदेखि विरोधसभा आयोजना हुने खुलामञ्चसहित चोक–चोकमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको बाक्लो उपस्थिति छ । प्रहरीले शंकास्पद व्यक्तिमाथि चेकजाँच समेत गरिरहेको छ।