विराटनगरमा पनि आम हड्तालको आंशिक प्रभाव

विराटनगर । प्रचण्ड र नेपाल अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टीले बिहीबार गरेको आम हड्तालको प्रभाव प्रदेश नं. १ को राजधानी विराटनगरमा पनि देखिएको छ । पार्टीले बुधबार नै बिहीबार आम हड्ताल गर्ने निर्णयसहितको घोषणा गरेपछि विराटनगरमा बिहानैदेखि सो को सामान्य प्रभाव देखिएको हो । विराटनगरमा बिहीबार बिहानैदेखि सरकारी तथा निजी र लामो तथा छोटो दुरीका सवारीसाधन चल्न पाएका छैनन् । लकडाउन जस्तै औषधी, फलफुल, तरकारी, खाद्यान्न र खानेपानी बाहेकका पसलहरु पनि पुर्ववत रुपमा सञ्चालन हुन सकेका छैनन् ।

एम्बुलेन्स, मोटरसाईकल, सिटी सफारी र सञ्चार क्षेत्र बाहेकका सवारीसाधनहरुको आवागमनमा चोक, चोकमा भेला भएर बसेका बन्दकर्ताहरुले पुर्णतः रोक लगाएका छन् । हड्तालका कारण आम नागरिक र श्रमिक तथा मजदुर वर्गको रोजीरोटीमा समेत असर पुगेको छ । आम नागरिकले स्थानीय तवरबाटै बन्द हड्तालको विरोध समेत गरिरहेका छन् ।

बुधबार संवैधानिक परिषदका पदाधिकारीहरुलाई संविधान विपरित शपथ गराएपछि सो को विरोध स्वरुप बिहीबार आकस्मिक रुपमा पार्टीले आम हड्तालको घोषणा गरेको बताएको छ । बुधबार अपरान्ह गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै सम्पुर्ण उद्यमी व्यावसायी तथा श्रमिक वर्गलाई निर्धक्क एवं पुर्ववत रुपमा आ–आफ्नो पेशा व्यावसाय सञ्चालनमा गर्न आग्रह गरेपनि सो को अवज्ञा गर्दै प्रचण्ड–नेपाल समुहले आजको हड्ताल जारी राखेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरे लगत्तै पछिल्लो समय सो विरुद्ध भने देशव्यापी आन्दोलन भईरहेको छ ।