
झापा : प्रधानमन्त्री ओलीले बिर्तामोड नगरपालिकामा विपन्न तथा आदिवासी समुदायका लागि निर्मित ‘प्रदेश गौरव भिलेज’को आज उद्घाटन गरेका छन् । बिर्तामोड–७ मा निर्मित सो ‘भिलेज’मा ३७ आवासगृह छन् ।
भद्रपुरका धनजुजु श्रेष्ठ र कमला श्रेष्ठले निःशुल्क प्रदान गरेको एक बिघा तीन कठ्ठा जग्गामा प्रदेश १ सरकार, नगरपालिका, ह्याबिटाट नेपाल र सहारा नेपालको रु १४ करोड ८० लाखका लागतमा ग्राम निर्माण गरिएको थियो । सो अवसरमा प्रधानमन्त्री ओलीले मुलुकमा घरबारविहीन कोही हुनु नपर्ने जनाउँदै देशभर फुसको छानारहित घर निर्माणमा सरकारले सहयोग गर्ने आश्वासन दिए ।
नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीले सो बस्तीमा अतिविपन्न कुर्मी र सन्थाल समुदायका परिवारलाई बसोबास गराइएको जानकारी दिए । उनका अनुसार हालसम्म नगरपालिकाभित्र ३०६ घर निर्माण गरेर विपन्न समुदायलाई हस्तान्तरण गरिसकिएको छ । चालु आर्थिक वर्षमा ५०० घर निर्माण गरेर हस्तान्तरण गर्ने योजनानुरुप २०६ घर निर्माणाधीन रहेको उनले बताए ।
पूर्वाञ्चल क्यान्सर अस्पताल उद्घाटन
प्रधानमन्त्री केपी शर्मा ओलीले बिर्तामोड नगरपालिका वडा नं ५ मा नवनिर्मित पूर्वाञ्चल क्यान्सर अस्पतालको पनि आज नै उद्घाटन गरेका छन् । उनले अस्पताल परिसरमा रहेको शिलालेख अनावरण गरी अस्पताल उद्घाटन गर्नाका साथै कक्षहरु अवलोकन पनि गरे ।
बिर्तामोड निवासी दुर्गा प्रसाईँको छ अर्ब रुपैयाँ निजी लगानीमा अस्पताल निर्माण भएको हो । जसमा तीन सय शय्या छन् । करिब एक वर्षअघि नै सेवा शुरु गरेको अस्पतालको आज विधिवत् उद्घाटन भएको हो । एक वर्षका अवधिमा करिब दुई हजार सात सय बिरामीले अस्पतालबाट सेवा लिएका छन् जसमध्ये करीब एक हजार तीन सय झापाकै बासिन्दा रहेको बताइएको छ ।