७ घण्टा ढिला पुग्यो अक्सिजन, तड्पिएरै मरे २५ बिरामी

भारतको राजधानी दिल्लीमा कोरोना भाइरसको बढ्दो खतराबीच अक्सिजनको संकट पनि चरम अवस्थामा छ । अस्पतालमा भर्ती भएका कोभिडका गम्भीर बिरामीको उपचारका लागि अक्सिजन जरुरी हुन्छ । यसको अभाव अहिले प्राणघातक साबित भइरहेको छ ।

शनिबार दिल्लीको जयपुर गोल्डेन अस्पतालमा अक्सिजनको कमीका कारण २५ बिरामीको मृत्यु भयो । अस्पतालका मेडिकल डाइरेक्टर  डाक्टर बलुजाका अनुसार अस्पतालमा शुक्रबार साँझ साँढे पाँच बजेसम्म आउनुपर्ने अक्सिजन मध्यराति १२ बजेमात्रै पुग्यो ।

तोकिएको समयभन्दा ७ घण्टा ढिलो अक्सिजन आइपुग्दा गम्भीर अवस्थाका २५ जनाले दम तोडिसकेका थिए । अस्पताल व्यवस्थापनका अनुसार यहाँ बिरामीहरु अक्सिजनको कमीसँग निरन्तर जुधिरहेका छन् । अहिले पनि २ सयभन्दा धेरै बिरामी अस्पतालमा भर्ना भएका छन्, उनीहरुलाई तुरुन्तै अक्सिजनको जरुरत छ ।

राजधानी दिल्लीका अन्य अस्पतालहरुमा पनि अक्सिजनको कमी छ । एक दिन पहिले सर गंगाराम अस्पतालमा २५ जना बिरामीले अक्सिजनको कमीकै कारण आफ्नो ज्यान गुमाएका थिए । दिल्लीमा कोरोना भाइरसको प्रभाव उच्च छ । यहाँ शुक्रबार २४ हजारभन्दा धेरैमा संक्रमण देखिएको थियो ।

शुक्रबार अहिलेसम्मकै सर्वाधिक ३ सय ४८ जनाले ज्यान गुमाए । दिल्लीमात्रै नभएर भारतका अन्य राज्यमा पनि कोरोनाले आतंक मच्चाइरहेको छ । झन्डै एक अर्ब ३८ करोडभन्दा धेरै जनसंख्या बसोबास गर्ने भारतमा दिनहुँ ३ लाखभन्दा धेरै नयाँ संक्रमित थपिइरहेका छन् ।