
काठमाडौँ । दैलेख क्षेत्रमा पाइएको कच्चा तेल र निरन्तर बलिरहेको ग्यासले त्यस क्षेत्रमा प्रचूर मात्रामा पेट्रोलियम पदार्थ रहेको देखिएको छ ।
अब त्यस क्षेत्रमा खानी तथा भूगर्भ विभागको व्यापक अन्वेषणका लागि तीनवर्षे कार्यक्रम कार्यान्वयनमा आएपछि आयातीत इन्धन पेट्रोलियमका लागि वैकल्पिक आयाम खुल्ने सम्भावना बढेको छ ।
खानी तथा भूगर्भ विभागका महानिर्देशक डा. सोमनाथ सापकोटाले अहिलेसम्मको खोज, अन्वेषणले दैलेख क्षेत्रमा पाइएको कच्चा तेल र विभिन्न ठाउँमा निरन्तर बलिरहेको ग्यासले त्यस क्षेत्रमा व्यापक कच्चा पेट्रोलियम रहेको हुनसक्ने बताउनुभयो ।
अहिले नेपालको पेट्रोलियम कार्यक्रम अन्वेषणको चरणमा रहेको बताउँदै उहाँले पेट्रोलियम पदार्थ अन्वेषणका लागि नेपाल र चीनबीच भएको सम्झौताअनुसार अहिले चिनियाँ टोली नेपालमा अन्वेषण कार्य गरिरहेको जानकारी दिनुभयो । अहिले तीनवर्षे पेट्रोलियम पदार्थ अन्वेषण कार्यक्रम सञ्चालनमा छ ।
डा. सापकोटाका अनुसार, अन्वेषण कार्यअन्तर्गत यो वर्ष पेट्रोलियम पाइने क्षेत्रको सम्भाव्यता अध्ययन र कार्य क्षेत्र निर्धारणको काम सम्पन्न गरिने छ । दोस्रो वर्ष त्यसलाई निरन्तरता दिई अझ गहन अध्ययन गरिने छ ।
त्यपछि तेस्रो वर्ष निर्धारण गरिएका क्षेत्रहरूमा ‘ड्रिलिङ’ काम सुरु गरिने जानकारी उहाँले दिनुभयो । जमिनबाट चार दशमलाव चार किलोमिटर जमिनमुनिसम्म ‘ड्रिलिङ’ गरिने खबर आजकाे गाेरखापत्रमा छ ।
यसरी अन्वेषणबाट पेट्रोलियम पदार्थ देखिएको (डिस्कभरी) अवस्थामा त्यसको मात्रा र क्षेत्र पत्ता लगाउन तथा उत्खनन्का लागि अर्को सम्झौता गर्नुपर्ने महानिर्देशक सापकोटाले बताउनुभयो ।