भारतमा एकैदिन निको भए ३ लाख ५५ हजार बढी कोरोना संक्रमित

काठमाडौँ : कोरोना संक्रमणको दोस्रो लहरका बीच भारतमा लगातार दोस्रो दिन नयाँ संक्रमितभन्दा निको हुने बिरामीको संख्या धेरै छ । मंगलबार ३ लाख ४८ हजार ३८९ संक्रमितको पहिचान भएको छ र ३ लाख ५५ हजार २५६ संक्रमित निको भएका छन् ।

यसअघि सोमबार ३ लाख २९ हजार ४९१ संक्रमित भेटिएका थिए । मृत्युको आँकडा भने चिन्ता बढाउने किसिमको छ । पछिल्लो २४ घण्टामा ४,२०५ संक्रमितको ज्यान गएको बीबीसी हिन्दीले जानकारी दिएको छ ।

लगतार तेस्रो पटक मृतकको संख्या ४ हजार पार भएको छ । यसअघि ७ मे मा ४,२३३ र ८ मेमा ४,०९२ मानिसहरुले यो महामारीमा ज्यान गुमाएका थिए ।

पछिल्लो दुई दिनमा पनि सक्रिय संक्रमित पनि करिब ४२ हजार घटेको छ । ९ मे मा सबैभन्दा धेरै ३७.४१ लाख बिरामीको उपचार चलिरहेको थियो । अब यो आँकडा घटेर ३६.९९ लाख भएको छ ।