ओली र नेपालबीच वार्ता शुरु, किन गोप्य राखियो वार्तास्थल ?

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीचको वार्ता शुरु भइसकेको छ। लामो समयदेखि संवादविहिन बनेका दुई नेता हाल वार्तामा बसेका छन्।

उनीहरुको वार्तास्थल हाललाई गोप्य राखिएको स्रोतले जानकारी दिएको छ। दुई नेताकाे सुझावअनुसार नै वार्तास्थल गाेप्य राखिएकाे बताइएकाे छ। पछिल्लो समय नेपाल पक्षका सांसदले सांसद पदबाट राजीनामा दिने तयारी गरेका बेला ओली र नेपालबीच भेटवार्ता तय भएको हो।

अध्यक्ष ओलीले भेटवार्ताका लागि प्रस्ताव गरेका थिए। ओलीको प्रस्तावमा नेता नेपाल सहमति भएका हुन्। दुई नेताको भेटवार्तापछि एमाले एकता नयाँ ढंगमा अघि बढ्नेमा विश्वास गरिएको छ। आजै बालुवाटारमा बसेको बैठकले नेता नेपालसहित भीम रावल, घनश्याम भूसाल र सुरेन्द्र पाण्डेको कारबाही फुकुवा गर्ने निर्णय गरेको थियो।

बैठकले ओलीलाई नेता नेपालसँग सम्वाद गर्ने र सहमति गर्ने थप अधिकार पनि दिएको थियो। कारबाही फुकुवा गर्नु ओलीको सकरात्मक कदम भएको नेपाल पक्षले नेताले जानकारी दिएका थिए।

ओलीसँगको भेटमा नेता नेपालले पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थाबाट अगाडि बढाउनुपर्नेमा जोड दिने नेपाल निकट एक नेताले बताए। एमालेको एकता कायम राख्नका लागि नेपालले अध्यक्ष ओलीलाई पार्टीको २०७५ जेठ २ गतेको संगठनलाई ब्युँताउन दबाब दिनेछन्।