आतंकको आभास दिने संगठन तत्काल खारेज गर्न योगेशको माग

काठमाडौँ : नेकपा एमालेका युवा नेता योगेश भट्टराईले समूहगत रुपमा युथ फोर्स र अखिल फोर्स गठन गरिएकोप्रति कडा आपत्ति जनाएका छन् । हालै एमालेमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले युथ फोर्स र अखिल फोर्स ब्यूँत्याएकोप्रति नेता भट्टराईले गम्भीर आपत्ति प्रकट गरेका हुन् ।

पार्टीमा रहेको अनेरास्ववियू र युवासंघलाई ओझेलमा राखेर समूहमार्फत अन्य संगठन तयार गरिएको भन्दै नेता भट्टराईले त्यसको औचित्यमाथि पनि प्रश्न गरेका छन् । ‘ऐतिहासिक र गौरवशाली इतिहास भएका, पञ्चायत फाल्ने र गणतन्त्र ल्याउने आन्दोलन र क्रान्तिको अग्रभागमा रहेर भूमिका खेलेका, हजारौँ युवाहरुलाई राजनीतिक र वैचारिक शिक्षामार्फत पार्टी र सामाजिक कामको नेतृत्व गर्नसक्ने क्षमतामा पु¥याएका अनेरास्ववियू र युवासंघ जस्ता संगठनलाई ओझेलमा राखेर निर्माण गरिएका युथ फोर्स र अखिल फोर्सको औचित्य के छ’, भट्टराईले सोधेका छन् ।

उनले समाजमा आतंकको आभास दिने र युवाहरुलाई अराजनीतिकरण गर्दै कानुन हातमा लिएर राजनीतिलाई अपराधीकरण गर्न उद्द्त यस्ता बाहुबली समूहहरु तत्काल खारेज गर्न पनि माग गरेका छन् ।

‘समाजमा आतंकको आभास दिने र युवाहरुलाई अराजनीतिकरण गर्दै कानुन हातमा लिएर राजनीतिलाई अपराधीकरण गर्न उद्द्त यस्ता बाहुबली समूहहरु तत्काल खारेज गर्नु पर्दछ । अनेरास्ववियू र युवासंघ जस्ता संगठनलाई सही नीति र नेतृत्व प्रदान गरेर राजनीतिक र सामाजिक काममा अग्रसर गर्नु पर्दछ’, भट्टराईले भनेका छन् ।

एमालेभित्र हालै अध्यक्ष ओली पक्षले युथ फोर्स ब्यूँत्याएपछि नेपाल समूहले अखिल फोर्स तयार गरेको हो । उनले शान्तिपूर्ण र वैधानिक प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने, कानुनी राज्यलाई स्वीकार गर्ने जस्ता विशेषतासहितको बहुदलीय जनवादको सिद्धान्तलाई अनुशरण गरेको नेकपा एमालेका लागि बाहुबली संगठन निर्माण गर्नु सुहाउने काम नभएको बताउँदै यस्ता गतिविधिमाथि तत्काल रोक लगाउन नेतृत्वसँग आग्रह गरेका छन् ।