अफगानिस्तान यो हालतमा आइपुग्नुमा त्यहाँका नेता नै जिम्मेवार: बाइडेन

अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तान तालिबानको कब्जामा आउनुमा अफगानिस्तानकै नेताहरु जिम्मेवार रहेका बताउनु भएको छ ।

राजधानी काबुललाई तालिबानले नियन्त्रणमा लिएपछि अफगानिस्तानका राष्ट्रपति अशरफ घानीसहितका नेताले देश छोडेर भागेका थिए । यसप्रति टिप्पणी गर्दै बाइडेनले अफगानिस्तानमा अहिलेको अवस्था आउनु नेताहरु नै जिम्मेवार रहेका बताउनु भएको हो ।

उहाँले अफगान सेनालाई उत्कृष्ट तालिम र हतियार दिएको तर उनीहरुले तालिबानसँग युद्ध गर्न नसकेको टिप्पणी गर्नु भएको छ ।

अमेरिकाले २० वर्षसम्म अफगानिस्तानमा रहेका आफ्ना सैनिक फर्काउन थालेपछि तालिबानले त्यहाँ कब्जा जमाएको हो । यही विषयलाई लिएर अहिले अमेरिकी राष्ट्रपति बाइडेनको आलोचना भइरहेको छ । आलोचनाकैबीच बाइडेनले आफ्नो बचाउ गर्नु भएको हो । उहाँले अफगानिस्तानलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता भने जनाउनु भएको छ ।