कर्मचारी र ठेकेदारले प्रधानमन्त्रीलाई ढाट्न थालेपछी बनाए एक्सन रुम | OmkarTimes.com

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै कार्यकक्षमा बसेर देशभरका विभिन्न आयोजनाको अनुगमन थालेका छन् ।

 

दिनहुँ के कति काम भयो, कहाँ के अवरोध आयो भनेर सबै प्रत्यक्ष रुपमा प्रधानमन्त्रीले हेर्न सुरु गरेका हुन् । यसको लागि १० करोड बढी रुपैया खर्चेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा एक्सन रुम स्थापना गरिएको छ ।

 

प्रधानमन्त्री ओलीले केही दिनअघि मात्रै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, भेरी – बबई डाइभर्सन, माथिल्लो तामाकोशी जलविद्युत आयोजना, मेलम्ची खानेपानी आयोजना, सिक्टा सिँचाइलगायतका राष्ट्रिय गौरवका आयोजनाको एक्सन रुमबाटै अनुगमन गरेका थिए ।

 

राष्ट्रपति चुरे संरक्षण कार्यक्रम, रानीजमरा सिँचाइ आयोजना, मध्यपहाडी लोकमार्ग, हुलाकी लोकमार्ग र काठमाण्डौ–तराई दू्रतमार्ग आयोजनाको पनि यहीँबाट प्रत्यक्ष निगरानी गर्न मिल्ने गरी आवश्यक प्रणाली जडान गर्ने काम भइरहेको छ ।

 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेको एक्सन रुममा तीन वटा ठूला मनिटर जडान गरिएको छ । यस्तै सातवटै प्रदेशका मुख्यमन्त्रीहरुको कार्यलयमा पनि ‘टेलिप्रिजेन्स सिस्टम’ जडान गरिएको छ । टेलिप्रिजेन्स भनेको ‘भिडियो कन्फ्रेन्सिङ सिस्टम हो । इन्टरनेटका माध्यमबाट यसमा सदृश्य कुराकानी हुन्छ । प्रधानमन्त्रीले पनि यही सिस्टममार्फत सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग कुराकानी गर्ने गरेका छन् ।

आयोजनाको मुख्य कार्यक्षेत्रमा सीसी क्यामेरासहितको यो सिस्टम जोडिएको छ । यही सीसी क्यामेरामार्फत प्रधानमन्त्री कार्यालयमा रहेको एक्सन रुपमा लाइभ फुटेज चौबीसै घण्टा आइरहन्छ ।

 

फिल्डमा काम नहुँदा पनि आयोजनाले भौतिक पूर्वाधार प्रगतिबारे सम्बद्ध मन्त्रालय र प्रधानमन्त्री कार्यालयलाई गुमराहमा राख्ने प्रवृत्ति पनि छ । यस्तो समस्या समधानका लागि यो प्रणाली निकै प्रभावकारी हुन सक्ने दावी सरकारको छ ।

 

नतिजा व्यवस्थापन महाशाखाअन्तर्गत रहने गरी झण्डै १० करोड रुपैयाँ खर्चिएर ‘एक्सन रुम’ तयार गरिएको हो ।