
माल्दिभ्समा शुक्रबारबाट सुरु भएको साफ च्याम्पियनसिप प्रतियोगितामा नेपालले पहिलो खेलमा साबिक विजेता माल्दिभ्सलाई १–० ले हराएको छ । खेलको ८६औं मिनेटमा मनीषले डाँगीको निर्णायक गोलबाट नेपालले माल्दिभ्समाथि साफ च्याम्पियनसिप इतिहासमै पहिलो जित हात पारेको हो।
उमेरसमूहमा नेपालले माल्दिभ्सलाई हराए पनि सिनियर टोलीले माल्दिभ्सलाई हराएको यो पहिलो पटक हो। नेपालका मुख्य प्रशिक्षक अल्दुल्लाह अल्मुताइरीले पहिलो हाफमा दबावमा खेले पनि दोस्रो हाफमा नेपालले सुधारिएको प्रदर्शन गरेको बताए। साफ च्याम्पियनसिपको १३औं संस्करणसम्म नेपालले पहिलो खेल जितेको यो तेस्रो पटक हो। यसअघि नेपालले आफ्नो पहिलो खेलमा सात पटक हार बेहोर्दा तीन पटक बराबरी खेलेको थियो। नेपालले साफमा आफ्नो पहिलो खेलमा माल्दिभ्सविरुद्ध खेलेको यो तेस्रो पटक हो।
यसअघिका दुई खेलमा नेपाल र माल्दिभ्सले १–१ को बराबरी खेलेका थिए।पहिलो हाफअन्तर्गत नेपालले माल्दिभ्सविरुद्ध दबाबमा खेलेको थियो। छैटौं मिनेटमा माल्दिभ्सका खेलाडीको प्रहार दिनेश राजवंशीले क्लियर गर्दै नेपालको सङ्कट टारेका थिए।
१२ औं मिनेटमा नेपालले अग्रता लिने अवसर पाए पनि त्यसको सदुपयोग भने गर्न सकेन। नेपालका नवयुग श्रेष्ठको पासमा रोहित चन्द गोल गर्न चुके। १९औं मिनेटमा नेपालका कप्तान तथा गोलकिपर किरणकुमार लिम्बुले माल्दिभ्सको अली फासिरको प्रहार विफल पारेका थिए।