प्रदेश २ मा दुई मन्त्रीले लिए शपथ, प्रदेश सरकार अब ४ दलिय

काठमाडौं – प्रदेश २ सरकारमा नेकपा एकिकृत समाजवादीका २ मन्त्री सहभागि भएका छन् ।

आज नेकपा एसका तर्फबाट संसदीय दलका नेता सत्रुधन महतो र सांसद प्रमोद यादवले मन्त्रीको शपथ लिएका हुन ।

जनकपुर स्थित मधेस भवनमा आज आयोजित शपथग्रहण समारोहमा नवनियुक्त दुबै मन्त्रीलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले शपथ ग्रहण गराए ।

शपथ ग्रहण गरेका दुबै मन्त्रीको जिम्मेवारी समेत तय गरिएको छ ।

महतोलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र यादवलाई कानुन न्याय तथा प्रदेश मामिला मन्त्रालयको जिम्मेवार दिईएको छ ।
नेकपा एमालेबाट विभाजन भएर बनेको नेकपा एसको प्रदेशसभामा १३ सांसदहरु छन् ।

यसअघि नै नेकपा एसलाई सरकारमा ल्याउने प्रयास भएको थियो । तर मन्त्रालयको भागबण्डामा कुरा नमिल्दा नेकपा एस सरकारमा गएको थिएनन् । सहमती जुटाउन नेकपा एसका अध्यक्ष माधव नेपालसँग भेट्न मुख्यमन्त्री लालबाबु राउत काठमाडौं नै पुगेका थिए ।

काठमाडौंमा भएको सहमती अनुसार नेकपा एसलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय दिन मुख्यमन्त्री राउतले मन्त्री रामनरेश रायलाई पदबाट बर्खास्त गरेका थिए ।

जसपाले नेतृत्व गरेरिरहेको प्रदेश सरकारमा यसअघि नै नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र सहभागी भइसकेको छ ।