बन्दसत्र सुरु हुनुअघि पदाधिकारीमा सहमति जुटाउन ओलि छलफलमा

चितवन : चितवनमा शुक्रबारदेखि जारी नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनअन्तर्गत आज नयाँ नेतृत्व चयनको प्रक्रिया (बन्दसत्र) सुरु गरिँदै छ। बन्दसत्र मध्यान्ह १२ बजेपछि मात्रै सुरु हुने भएको छ। बिहान १० बजेदेखि सुरु हुने भनिएको बन्दसत्र २ घन्टा ढिला गरि सुरु हुने भएको हो। त्यसअघि पदाधिकारीमा सहमति जुटाउन नेताहरु छलफलमा जुटेका छन् ।

अहिले अध्यक्ष केपी शर्मा ओलि आफू निकटका नेताहरू महासचिव ईश्वर पोखरेल, सुवास नेम्वाङ, विष्णु पौडेल, शंकर पोखरेल लगायतसित छलफल गरिरहेका छन्। ओलिले अध्यक्षको उम्मेदवारी घोषणा गरेका उपाध्यक्ष भीम रावलसित छुट्टै छलफल गर्ने तयारी गरेका छन्। यसअघि मध्यराति बसेको एमालेको साविक केन्द्रीय कमिटीको बैठकबाट उनले सर्वसम्मती गराउन पदाधिकारीदेखि केन्द्रीय कमिटीसम्म विस्तार गर्दै विधान संशोधन प्रस्ताव पारित गराएका छन्। तर त्यो प्रस्ताव आज हुने बन्दसत्रले अनुमोदन गर्यो भने मात्र कार्यान्वयन हुनेछ।

नयाँ प्रस्तावअनुसार साविक विधानबमोजिम पदाधिकारी संख्या १५ बाट बढाएर १९ पुर्‍याइएको छ। २/२ जना उपमहासचिव र उपाध्यक्ष थपिएको हो। आफ्नै समूहका नेताहरूमा पदाधिकारीका आकांक्षी धेरै देखिएपछि अध्यक्ष केपी शर्मा ओलीले सबै समेट्ने प्रयासअनुरूप पदाधिकारी थप्ने निर्णय गराएका हुन्।