
सिन्धुली | नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको इतिहासमा महत्वपूर्ण भूमिका खेल्ने जनताको त्याग, तपस्या र बलिदानलाई सम्मान गर्न नसके आन्दोलन सफल मान्न नसकिने बताएका छन् । आज सिन्धुलीस्थित खैरेनीघाट(सुनकोशी) पुलको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् ।
उनले भने, ‘जनतालाई राहत दिलाउन र उनीहरुको समृद्धिको आकांक्षालाई सम्बोधन गर्न यो व्यवस्थाले सक्नुपर्छ ।’ अध्यक्ष प्रचण्डले भने, ‘नेपालमा संविधान सभाको निर्वाचन, संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा स्थानीय सरकार प्रादेशीक सरकार र संघीय सरकार संरचनाहरु निर्माण गर्ने कुरा रातारात गरिएका परिवर्तनका कुरा होइनन् ।
यो नाटकीय ढंगले गरिएको परिर्तन पनि होइन । यो व्यवस्था नेपाली जनताले राणाशाही बिरोधी आन्दोलनको बेलादेखि २००७ साल, संविधान सभाको निर्वाचन नहुँदासम्म र संविधानसभाको निर्वाचनबाट संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएर तीन तहको निर्वाचन नहुँदासम्म गरेको अनवरत संघर्ष, त्याग र बलिदानको परिणाम हो ।’
उनले झण्डै ७० वर्ष नेपाली जनताले जाति, क्षेत्र, लिंग, समुदाय सबैको बलिदान र संघर्षको कूल योगफलको रुपमा आजको संविधान र आजको संरचना निर्माण भएको बताए । उनले भने, ‘यो संरचनाले विकास गर्नुपर्छ । जनताको आकांक्षालाई सम्बोधन गर्नुपर्छ । त्यसकारण हाम्रो पार्टी र पार्टी नेतृत्वको सरकारले आफ्नो सपनाको रुपमा समृद्ध नेपाल निर्माण गर्ने र नेपालीहरुलाई सुखी बनाउने राष्ट्रिय सपना बोकेको छ ।’
उनले डेढ बर्षमा आफुहरुले गरे नगरेका सबै कुरा छर्लङ्गै भएको बताउँदै स्थानीय तह र सातै प्रदेशहरुले विकास निर्माणदेखि सामाजिक सुरक्षाजस्ता कामहरु सुरु गरिएको बताए । केन्द्र सरकारको बजेट र नीति तथा कार्यक्रमले जनताको भावनालाई सम्बोधन गर्ने कोशिस गरेको बताउँदै यसले विकासले ठूला ठूला विकासको गति लिने विश्वासको आधार तयार गरेको दाबी गरे ।
हिजो राजा महाराजाको चाकडी र गुलामी गर्ने केही दलाल र दासहरुले सरकार होइन सिस्टम नै फेर्ने दिन आयो भन्न थालेको बताउँदै सरकार बनेको डेढ वर्षमै यसको मूल्याँकन गर्न नसकिने बताए । उनले भने, ‘स्थानीय तहको निर्वाचनदेखि गन्दा पनि दुई वर्ष हुँदैछ ।
दुई वर्ष पुगेकै छैन तर तिनीहरुले सिस्टम बदल्ने कुरा गरेका छन् । एकथरी मान्छेले राजालाई ल्याउँछौं भनेको सुन्नुभएको पनि होला । म यो मञ्चमा बसेर देशभरका जनतालाई अपिल गर्न चाहान्छु । तिनीहरुले नेपाली जनतालाई रैती र दास बनाउने सपना देखेका छन्, त्यो कहिल्यै पुरा हुुने छैन ।
त्यसलाई कुनै हालतमा पुरा हुन दिइने छैन । हामी सानो दुःख, त्याग र बलिदानले यो ठाउँमा आएका होइनौं । हामीलाई कसैले दया माया गरेर कम्युनिष्ट पार्टीलाई दुईरतिहाई दिएको होइन । ’