
काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफ्नो इमान बेचेर मन्त्रीको कुर्सीमा नबस्ने बताएका छन्।
शुक्रबार नेपाल पर्यटन बोर्डको २३औँ वार्षिकोत्सवमा बोल्दै मन्त्री आलेले इमान बेचेर मन्त्रीको कुर्सीमा नबस्ने बताएका हुन्। उनले हाल छानविनका क्रममा रहेका बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) धनञ्जय रेग्मीले टोयोटाका गाडी बेचेर आफ्नो इमान किन्न खोजेको भन्दै आक्रोश व्यक्त गरे।
मन्त्री आलेले सीईओ रेग्मीकै कारण बेलायतमा भएको विश्व पर्यटन मेलामा नेपालको बेइज्जत भएको भन्दै रक्सीको मातमा उन्मत्त भएका व्यक्तिलाई संस्थाको सीईओ बनाउँदा संस्था चल्न नसक्ने बताए। उनले सीईओ रेग्मीलाई ‘साँढे’को संज्ञा दिँदै आफ्नो इमान किन्ने कुरा सपनामा पनि नसोच्न चेतावनी दिए।
‘यहाँ साँढेहरुलाई ल्याएर राजनीतिक नियुक्ति दिइन्छ। यहाँबाट म लण्डनको प्रोग्राममा गएँ। म जाँदै जाँदिन भन्दा जाउँ हजुर भने। त्यहाँ त आफ्नो देशको बारेमा कुरा राख्नुपर्छ भने। जबरजस्ती गरेर लगे।
त्यहाँ गएपछि मैले मेरो देशको लागि कोभिडबाट थला परेको देश, हस्पिटालिटीमा लागेका साथीहरुसहित विभिन्न साथीहरु, हाम्रो देश सेफ जोनमा छ भनेर सबैलाई आह्वान गर्ने इच्छा थियो। त्यो फोरममा बोल्ने इच्छा थियो,’ मन्त्री आलेले भने, ‘तर त्यो साँढेले केही पनि छैन बोल्ने कार्यक्रम मन्त्रीज्यू भने। …अन्तिममा त्यो फोरममा मैले बोल्न पाइनँ। मलाई एकदमै इरिटेड भयो। अब हामीले यस्तो साँढेलाई सीईओ बनायौँ भने संस्था चल्छ?’
उनले आफ्नो मन्त्रालय अन्तर्गतका संघसंस्थाहरुमा विकृतिको चाङ भएकोले सम्हाल्नै गाह्रो भइरहेको बताए। उनले पहिला जे भए पनि आफूले भ्रष्टाचार हुन नदिने दाबी गरे।
‘बेचेर खान पाए हुन्थ्यो भनेर त्यो धन्दामा छन्। यस्ता यस्ता विकृतिहरु छन् सम्हाल्नै गाह्रो छ। म आइसकेपछि पर्यटन विभागमा भर्खरै हाम्रो डीजीसाब आउनुभएको थियो। उहाँलाई पनि थाहा थिएन। टेण्डर एउटा अनाउन्स भयो। त्यो टेण्डरमा के रहेछ भन्दा जसले ढुंगा छाप्यो उसले टेण्डर पाउने। फस्टमा टेण्डर निस्क्यो, एउटाले टेण्डर बिट गर्छ उसले ठेक्का पायो। दोस्रो वर्ष टेण्डर निकाल्दा जसले ढुंगा छापेको छ, उसैले ठेक्का पाउने। तेस्रो वर्ष पनि उसैले।
मलाई एक लस्कर ठेकेदारहरुले भने हामी अर्बौं लगानी गरेर काम गरिरहेका छौँ। तर हामीले पर्यटन विभागको टेण्डरमा १५ करोडको ठेक्का लिन हामीलाई आउट गरिदियो। जम्मै सेटिङको काम छ भन्छन्। त्यसपछि मैले इमिडेट्ली क्यान्सिल गराएँ। त्यहीँ भित्रका एक जनाले यो पहिलाकै चलन हो भने। पहिला त काले काले मिलेर खाउँ भाले भन्थे, अब आयो आले,’ मन्त्री आलेले भने।
उनले डब्ल्यूटीएमको कार्यक्रममा जाँदा बोर्डबाट ८० लाख खर्च भएको भन्ने सुनेको भन्दै त्यसको छानविन गर्न माग गरे। उनले सबै खाने खर्च आफूले बेहोरेकाले खर्चको बारेमा छानविन गरेर कारबाही गर्नुपर्ने बताए।
मन्त्री आलेले आफ्नो संस्थाप्रति उत्तरदायी भएर काम गर्न सबै कर्मचारीहरुलाई निर्देशनसमेत दिए।