
झापा : खेतीयोग्य जमिनलाई असर गरेपछि कचनकवल गाउँपालिकाका स्थानीय आन्दोलित बनेका छन्। धान उत्पादनका लागि उर्वर कचनकवलमा इँट्टाभट्टाकै कारण उत्पादनमा ह्रास आएको स्थानीयको आरोप छ।
कचनकवल गाउँपालिकामा सञ्चालन भएका ६ वटै इँट्टा उद्योगविरुद्ध स्थानीयले घरेलु तथा साना उद्योग कार्यालयमा उजुरी दर्ता गराएका छन्। आठ सय बढीको हस्ताक्षरसहित स्थानीयले इँट्टा उद्योगविरुद्ध उजुरी गरेका हुन्। ‘इँट्टाभट्टाको धुलो धुवाँले बसिसक्नु छैन। त्यहाँ कुद्ने गाडीले सडक भत्काएर उस्तैछ, कल्भर्ट भत्किएको छ,’स्थानीय रविन राजवंशीभले भने, ‘बाल श्रमिक पनि राखेका छन् । यी इँट्टा उद्योग बन्द हुनुपर्छ ।’
घरेलु तथा साना उद्योग कार्यालयका निमित्त प्रमुख जयनारायण अधिकारी उजुरीपछि अनुगमन थालिएको बताए । उनका अनुसार अनुगमनका क्रममा केही समस्या देखिएको छ । अधिकारीले बाल श्रमिक प्रयोग गरेको हुन सक्ने बताए ।
‘हामी अनुगमनमा जाँदा इँट्टा उद्योग चलेका थिएनन् । त्यसकारण बालबालिकाले काम गरेको देखिएन,’ उनी भन्छन्, ‘तर, वरिपरि बालबालिका देखिए । उनीहरूले ती बालबालिका इँट्टा उद्योगमा पनि प्रयोग गरेका हुन सक्छन् ।’ अनुगमनका क्रममा सडक र कल्र्भट भत्किएको देखिएको बताए ।
यद्यपि इँट्टा उद्योगमा चल्ने सवारी हो या अन्य कारणले हो भन्ने यकिन भएको छैन । उनका अनुसार पछिल्लो समय झापामा इँट्टा उद्योगविरुद्ध स्थानीय आन्दोलित भइरहेका छन् । यसअघि हिल्दबारीमा एक इँट्टा उद्योग सञ्चालनको तयारी भएपछि स्थानीयले विरोध गरेका थिए । त्यो मुद्दा अहिले जिल्ला अदालत झापामा रहेको अधिकारीले बताए । यस्तै, यसअघि कमल गाउँपालिकामा स्थापना हुन लागेको इँट्टा उद्योगमा पनि स्थानीयले अवरोध गरेका थिए ।
जसका कारण उद्योग नै सञ्चालन हुन नसकेको अधिकारीले बताए । इँट्टा उद्योग सञ्चालनपछि माटोको उर्वर शक्तिमा ह्रास आउने, इँट्टा उद्योगके धुवाँले स्वास्थ्यमा गम्भीर असर पुग्ने भन्दै उद्योग सञ्चालनमा अवरोध गर्दै आएका छन् ।
घरेलु तथा साना उद्योग कार्यालय झापाको तथ्यांकअनुसार झापामा ४२ वटा इँट्टा उद्योग सञ्चालनमा छन् । अधिकांश उद्योगले प्रदूषण फैलाएको स्थानीयको आरोप छ । उद्योगहरूमा बाल श्रमिक पनि रहेका कारण स्थानीयले घरेलु तथा साना उद्योग कार्यालयलाई अनुगमन गरिदिन आग्रह गर्दै आएका छन् ।