
चितवन – अदालतले फैसला गरेर फरार रहेका २६० जना चितवनमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले विभिन्न मुद्दामा सजाय पाएर फरार रहेका उनीहरूलाई पक्राउ गरेको हो ।
चालू आर्थिक वर्षको ७ महिनामा जिल्ला अदालत चितवनबाट फैसला भएर फरार रहेका उनीहरूलाई पक्राउ गरी अदालतमा बुझाएको हो ।
कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार पक्राउ पर्नेमा वनसम्बन्धी, लागूऔषध, सरकारी छाप, दस्तखत कीर्ते, सवारी ज्यान, नकवजनी, लुटपाट, जबर्जस्ती करणीका रहेका छन् ।
कर्तव्य ज्यान, चोरी, ठगी, बैंकिङ कसूर र लागूऔषध मुद्दामा उनीहरूलाई पक्राउ गरिएको हो । फैसला कार्यान्वयनका क्रममा कार्यालयले पक्राउ परेका उनीहरूबाट ८७ वर्ष ८ महिना, २३ दिन कैद सजाय र १ करोड ३४ लाख १६ हजार १७९ रुपैयाँ जरिवाना समेत असूली गरेको छ ।
अधिकारीका अनुसार अदालतबाट फैसला कार्यान्वयनका लागि आएका पत्रका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो ।