दलित नाबालिग दिदीबहिनीको अपहरणपछि सामूहिक बलात्कार र हत्या

लखिमपुरमा बलात्कारपछि हत्या गरिएका दुई दलित दिदीबहिनीको २४ घण्टापछि बिहीबार साँझ ५ बजे दाहसंस्कार गरिएको छ । रोजगारी र क्षतिपूर्तिको माग गर्दै परिवारले दाहसंस्कार गर्न अस्वीकार गरेका थिए । तर प्रशासनको आश्वासनपछि दाहसंस्कार गर्न परिवार राजी भए ।

यसअघि दुवै बालिकाको शव परिवारको उपस्थितिमा पोष्टमार्टम गरिएको थियो । ३ जना चिकित्सकको टोलीले पोष्टमार्टम गरेको थियो । पोष्टमार्टम रिपोर्टले सामूहिक बलात्कार भएको पुष्टि गरेको छ । बलात्कारपछि पहिले दुवै दिदीबहिनीको घाँटी थिचेर हत्या गरिएको र त्यसपछि शवलाई रुखमा झुण्ड्याइएको थियो ।

बुधबार साँझ करिब ५ बजे दुवै दिदीबहिनीको शव रुखमा झुण्डिएको अवस्थामा फेला परेको थियो । मृतकमध्ये एकजना कक्षा ७ र अर्को कक्षा १० का विद्यार्थी थिए । यता आमाले केही केटाले छोरीलाई मोटरसाइकलमा अपहरण गरी बलात्कारपछि हत्या गरेको आरोप लगाएकी छन् । प्रहरीले हालसम्म ६ अभियुक्तलाई पक्राउ गरेको छ ।