
किभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसद्वारा दर्जनौँ सर्वसाधारणको ज्यान जानेगरी खार्किभ सहरमा भएको बमबारीलाई युद्ध अपराधको संज्ञा दिएका छन् ।
उनले सोमबार युक्रेनकै दोस्रो सबैभन्दा ठूलो सहर खार्किभमा नियतवश नै सर्वसाधारणमाथि लक्षित गरी हमला भएको दाबी गरेका छन् ।
अन्तर्राष्ट्रिय मानव अधिकारवादी समूहहरूले पनि रुसको आक्रमणको दौरान युद्ध अपराध भएको हुनसक्ने बताएका छन् । अन्तर्राष्ट्रिय अपराधिक अदालत (आईसीसी)ले जेलेन्स्कीको यस आरोपलाई लिएरै आफ्नै अनुसन्धान सुरु गर्ने तयारी गरेको छ ।
सोमबार राति युक्रेनका प्रधान न्यायधीश करिम खानले युक्रेनमा युद्ध अपराध वा मानवताविरुद्धको अपराध भएको हुनसक्ने तार्किक आधार रहेको विश्वास गर्न सकिने बताएका छन् । केही दिनअघि युद्ध सुरु गरेको रुसले युक्रेनलाई विभिन्न मोर्चाबाट आक्रमण गरिरहेको छ । तर युक्रेनी फौजको सशक्त प्रतिकारको कारण रुसी फौजको अघि बढ्ने गति मन्द भइरहेको छ ।
राजधानी किभको उत्तरी भागबाट रुसी हातहतियारसहित सैनिक चढेको सवारी साधनको ६४ किमि लामो लश्कर अघि बढिरहेको भूउप्रहबाट खिचिएका तस्बिरहरू सार्वजनिक भएपछि त्यहाँ अहिले आक्रमणको चेतावनी स्वरूप साइरन बज्न थालेको छ ।