देशभर गर्मी बढ्यो, काठमाडौंको तापक्रम कति ?

काठमाडौँ – हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। देशभर तापक्रम बढ्ने क्रममा रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौंको तापक्रम पनि निरन्तर उकालो लागिरहेको हो । यस वर्ष काठमाडौंमा हिउँदपछिको सबैभन्दा बढी तापक्रम शुक्रबार ३१.३ डिग्री मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसअघि १ चैतमा ३१.१ डिग्री मापन भएको थियो।

गत वर्ष २१ मार्चको काठमाडौंको अधिकतम तापक्रम २८.७ डिग्री सेल्सियस थियो, जुन उक्त महिनाको सबैभन्दा बढी तापक्रम थियो।

हरेक दिन तापक्रम बढ्दै जान थालेपछि मौसम पूर्वानुमान महाशाखाले तराईमा तातो हावा अर्थात् लु चल्न सक्ने चेतावनी दिएको छ। भारतको राजस्थान, मध्यप्रदेश क्षेत्रमा तातो हावा चलिरहेको छ, नेपालका तराईमा तापक्रम बढ्नुमा यसको असर पनि हुन सक्ने प्रारम्भिक अनुमान रहेको मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् कँडेललाई जानकारी दिइन्।

महाशाखाका अनुसार शनिबार देशको पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू-भागका एक वा दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना छ।