सरकारले आयात प्रतिस्थापन र निर्यातमूलक उद्योगलाई संरक्षण गर्ने नीति ल्याउछ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले आयात प्रतिस्थापन गर्ने र निर्यातमूलक उद्योगलाई संरक्षण गर्ने नीति ल्याउने बताएका छन् । मुलुकमा व्यापार घाटा बढिरहेका बेला थापाले स्वदेशमा उत्पादन हुन सक्ने वस्तुको आयात निरुत्साहित गर्ने नीति ल्याउने तयारी गरिरहेको बताएका हुन् ।

फेडरेसन अफ नेपाल एक्सपोर्ट एसोसिएसनका अध्यक्ष पवनकुमार गोल्यानले महामन्त्री थापालाई नीतिगत सुधार गर्नुपर्ने विषयमा लिखित सुझाव दिएका छन् । एसोसिएसनको सुझाव ग्रहण गर्दै थापाले कांग्रेसले स्वदेशी उद्योग संरक्षणको नीति लिने बताए ।

सरकार निर्माणको क्रममा रहेकाले मुलुकको अर्थतन्त्र आत्मनिर्भर बनाउन कांग्रेसले पहल गर्ने उनले बताए । थापाले आगामी बजेटमा राख्नुपर्ने विषयका बारेमा विभिन्न पक्षसँग छलफल तथा सुझाव लिने काम गरिरहेका छन् । नेपाली कांग्रेको स्थानीय तह निर्वाचनको घोषणापत्र तयार गर्ने जिम्मेवारी पाएका थापाले कांग्रेसले लिने नीतिका बारेमा पनि व्यवसायीसँग सुझाव लिएका छन् ।

एसोसिएसनले सरकारले जैविक कृषि उपजलाई प्राथमिकता दिने नीति अवलम्बन गर्नुपर्ने, उच्च दरमा आयात महसुल तथा एन्टी डम्पिङ करको व्यवस्था गर्नुपर्ने, दुर्गम स्थानमा उत्पादन भएको कृषि उपज तथा वन पैदावारमा ढुवानी अनुदानको व्यवस्था गर्नुपर्ने, बजारीकरणको व्यवस्था गर्नुपर्नेलगायत माग गरेको छ ।