नेपालमा लुपसका बिरामीको संख्या बढ्दै

नेपालमा लुपसका बिरामीको संख्या बढ्दै जाँदा मिर्गौला फेल हुने, छालाको समस्या हुने, मुट कलेजो, जोर्नीको समस्याका बिरामीहरू ह्वातै बढेकोलुपस नेपालले जनाएको छ।

विश्व लुपस महिनाको अवसर पारी लुपस नेपालले आइतबार आयोजना गरेको कार्यक्रममा लुपसका बिरामी संख्या बढ्दै गएको जानकारी दिइएको हो। लुपस एक प्रकारको निको नहुने तर समयमै रोग पहिचान भएमा रोकथाम गर्न सकिने जोर्नीसम्बन्धी दुखाइ हुने दीर्घ रोग हो।

कार्यक्रममा बाथरोग विशेषज्ञ डा. बुद्धि पौडेलले लुपसको पहिचान गर्न अहिले पहिलाजस्तो गाहो नभए पनि १५ देखि ४५ वर्ष उमेर समूहका युवा महिलामा यो रोग बढी देखिने भएकाले समयमै सचेत हुनुपर्ने बताए ।

के हो लुपस ?

लुपस एक किसिमको बाथरोग हो, जो निकै कम मानिसमा देखिन्छ । यो एउटा अटो इम्युन रोग हो । यसले छाला, जोर्नी, मिर्गौला, मस्तिष्कलगायतका विभिन्न अंगलाई प्रभावित गर्छ । लुपस हुने सम्भावना पुरुषको तुलनामा महिलामा नौ गुणा बढी हुन्छ । यसबाट युवावस्थाका महिला बढी प्रभावित हुन्छन् ।

लक्षण

लुपसको मुख्य लक्षण कपाल झर्ने, शरीरका विभिन्न भागमा राता–नीला दाग देखिने तथा जोर्नी दुख्ने हुन्छ । बिस्तारै पूरै कपाल झर्ने, हातका औँला दुख्ने र सुन्निनेजस्ता लक्षण देखिन्छन् ।
चिसो पानीमा राख्दा हातको रङ सेतो वा रातो हुन्छ । लामो समयसम्म लगातार ज्वरो आउने गर्छ ।
उपचार नभएमा मुटु, मिर्गौला र फोक्सोजस्ता भित्री अंगमा असर पर्छ । जसले गर्दा फोक्सो, मुट र खुट्टामा पानी जम्ने समस्या देखिन्छन् । शरीरका अन्य अंगमा समेत समस्या हुने भएकाले स्वास्थ्यमा अन्य जटिलता थपिँदै जान्छन् ।

रोकथाम र उपचार

-लुपसका बिरामीले जीवनशैलीमा निकै ध्यान दिनुपर्ने हुन्छ । घामबाट सकेसम्म बच्नुपर्छ । बाहिर हिँड्दा शरीर पूरै ढाक्ने गरी लुगा लगाउनुपर्छ ।त्यस्तै, चिसोबाट पनि बच्नुपर्छ ।

– लुपसबाट प्रभावित महिलामा गर्भपतनको सम्भावना बढी हुन्छ । तसर्थ, रोग नियन्त्रण गरेर मात्रै गर्भधारण गनुपर्छ ।

-धूम्रपान र मध्यपान गर्नुहुँदैन । खानपानमा  ध्यान दिनुपर्छ ।

-लुपसलाई उपचारको माध्यमबाट पूर्ण रूपमा निको पार्न सकिँदैन । तर, औषधि सेवनबाट सजिलै नियन्त्रण गर्न सकिन्छ ।

-रोगको अवस्था हेरेर औषधि प्रयोगमा ल्याइन्छ । औषधिको माध्यमले स्वस्थ मानिससरह  जिउन सकिन्छ ।