बालेनको पदभार ग्रहणः पहिलो निर्णय– कार्यपालिका बैठक लाइभ गर्ने

काठमाडौं। काठमाडौं महानगरपालिकामा नवनिर्वाचित प्रमुख बालेन्द्र साह (बालेन)ले पदभार ग्रहण गरेका छन्। सोमबार महानगरपालिका कार्यालय पुगेर मेयर साहले पदभार ग्रहण गरेका हुन्।बालेनले नगर कार्यपालिकाको बैठक प्रत्यक्ष प्रसारण गर्ने पहिलो निर्णय गरेका छन्। बैठक आजै ४ बजे बस्नेछ।पदभार ग्रहणपछि बोल्दै उनले फोहोर व्यवस्थापनपछि अन्य काम गर्ने बताए।

उनले भने, ‘२/४ दिनअघि नै हामीले खाँदा, माला, अन्तर्वार्ता र सेलिब्रेसनहरू फोहोरको व्यवस्थापन नभएसम्म नगर्ने भनेका छौं। हामीले गरेको पापको भारी सिसडोलबासीले भोग्दै हुनुहुन्छ। उहाँहरू क्यान्सर पीडित हुन भएको छ। छालाको रोग लागेको छ। मानिस मरिरहनुभएको छ। यो शोक मनाउने बेला हो। फोहोरको व्यवस्थापन नहुन्जेल र सिसडोलबासीले स्वच्छ वातारण र हावामा बस्ने र पानी पिउने वातावरण नहुन्जेल अरु काम हुँदैन।’ त्यस्तै, उपप्रमुख सुनिता डंगोलले पनि पदभार ग्रहण गरेकी छन्।त्यसअघि उनले सपथ लिएका थिए।