
काठमाडौं । एसीसी महिला टी-२० क्रिकेट प्रतियोगिताको फाइनल पुग्न नेपालले युएईलाई हराउनुपर्ने भएको छ । बुधवार समूहगत चरणका सबै खेलहरू सकिएपछि नेपालले सेमिफाइनललाई युएई प्रतिद्वन्द्वी पाएको हो ।
अर्को सेमिफाइनलमा हङकङले मलेसियाको सामना गर्ने छ । समूह ए मा चार खेलमा ७ अंक जोड्दै युएई विजेता र ६ अंक जोड्दै मलेसिया उपविजेता बन्यो । समूह बि मा हङकङ ४ खेलबाट ८ अंक बटुलेर विजेता बन्यो । चार खेलबाट ६ अंक जोडेको नेपाल उपविजेताका रूपमा अगाडि बढेको हो ।
समूहका सुरुका तीन खेल लगातार जितेको नेपालले चौथो तथा अन्तिम खेलमा हङकङसँग पराजित भएको थियो । पहिलो खेल रद्द भएपछि अंक बाँडेको युएईले त्यसपछिका लगातार तीन खेल जितेको थियो ।
जारी प्रतियोगिताको फाइनल पुग्ने दुवै टोली एसीसी महिला टी-२० एसिया कपका लागि छनोट हुने छन् । यसअघि नेपालले एसीसी महिला टी-२० च्याम्पियनसिपको फाइनलसम्मको यात्रा तय गर्न सकेको छैन ।