बजेट दिलाएबापत प्रदेशसभा सदस्यलाई सुनको औँठी

जनकपुरधाम । निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत र मन्त्रालयसहित विभिन्न निकायबाट बजेट उपलब्ध गराएबापत एक संस्थाले प्रदेशसभा सदस्यलाई सुनको औँठी उपहार दिएको पाइएको छ ।

सप्तरीको राजविराजस्थित साह सेवा सदनको भवन निर्माणका लागि बजेट दिलाउन भूमिका खेलेको भन्दै सो संस्थाले २ जना प्रदेशसभा सदस्यसहित ६ जनालाई सुनको औँठी उपहार दिएको पाइएको हो ।

सुनको औँठी पाउने प्रदेशसभा सदस्यमध्येका एक प्रदेशसभा सदस्य मनीषकुमार सुमन आफैँले साह सेवा सदनले आफूलाई सुनको औँठी उपहार दिएर सम्मान गरेको सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेपछि यो विषय बाहिरिएको छ । सुनको औँठी उपहार पाउनेहरूमा सुमनसँगै प्रदेशसभा सदस्य नेत्रविक्रम साहसमेत थिए ।

उनीहरूसँगै आयोजक संस्थाका अध्यक्ष दुर्गाप्रसाद साह, संस्थापक अध्यक्ष रामचन्द्र साह, तेली कल्याण समाजका केन्द्रीय अध्यक्ष शैलेन्द्रकुमार साह र पूर्वसांसद जगदीश साहलाई समेत सुनको औँठीसहित महँगो उपहार प्रदान गरिएको बताइएको छ।प्रत्येक व्यक्तिको औँठी ५ आनाको रहेको जनाइएको छ ।

६ वटै औँठीको अहिलेको बजार मूल्य २ लाख ५० हजार रुपैयाँ पर्न जान्छ । निर्वाचन क्षेत्र पूर्वाधार विकास कोषबाट साह सेवा सदनको धर्मशाला निर्माणका लागि बजेट उपलब्ध गराएकाले प्रदेशसभा सदस्य नेत्रविक्रमलाई, प्रदेशको मन्त्रालयबाट बजेट दिलाउन भूमिका खेलेका प्रदेशसभा सदस्य सुमनलाई र धर्मशाला निर्माणका लागि सहयोग गर्ने अन्य ४ जनालाई सम्मान गरिएको संस्थाका अध्यक्ष दुर्गाप्रसाद साहले जानकारी दिए ।

साह सेवा सदनको धर्मशालाको पहिलो तला उद्घाटनको अवसरमा उनीहरूलाई महँगो उपहारसहित सम्मान गरिएको हो ।प्रदेशसभा सदस्य सुमनले सो भवनको उद्घाटनको अवसरमा आफूलाई अतिथिको रूपमा बोलाइए पनि महँगो उपहारसहित सम्मान गर्ने विषय पहिले जानकारी नरहेको प्रतिक्रिया दिए।

उनले भने, ‘त्यो उपहार लिन लाजै लागे पनि अस्वीकार गर्ने स्थिति त्यहाँ थिएन।’ भविष्यमा कुनै गरिब छोरीको विवाह भयो भने त्यो औँठी आफूले उपहार दिने प्रतिबद्धता सुमनले व्यक्त गरे।

साह सेवा सदनको पहिलो तला निर्माणका लागि प्रदेशसभा सदस्य नेत्रविक्रमबाट ५० लाख, सामाजिक विकास मन्त्रालयबाट ४० लाख, राजविराज नगरपालिकाबाट ५ लाख रुपैयाँ सहयोग प्राप्त भएको संस्थाका अध्यक्ष साहले बताए । सो रकमबाट साह सेवा सदनका १० वटा कोठा, एउटा हल, ८ वटा शौचालय निर्माण गरिएको छ ।