राप्रपाले आज देशका सबै निर्वाचन क्षेत्रमा कोणसभा गर्दै

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज देशका सबै निर्वाचन क्षेत्रमा कोण सभा गर्दै छ। महँगी, बेरोजगारी, कुशासन र लम्पसारवादविरुद्ध भन्दै राप्रपाले देशभर कोणसभा गर्न लागेको पार्टीका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए।

देशभरबाट पार्टीका सदस्य र नागरिकलाई कोणसभामा सहभागी हुन राप्रपाले आह्वान गरेको उनले जानकारी दिए। राप्रपाले सरकारले माग पूरा नगरे तेस्रो चरणको आन्दोलन गर्ने चेतावनी दिएको छ। पहिलो चरणको आन्दोलनका कार्यक्रम सकेर अहिले दोस्रो चरणको आन्दोलन गरिएको श्रेष्ठले बताएका छन्।

काठमाडौंलगायत देशका विभिन्न ठाउँमा ‘थाल ठटाउने’ कार्यक्रम गर्दै राप्रपाले तेस्रो चरणको आन्दोलनको चेतावनी दिएको थियो। गत ५, ६ र ७ गते राजधानीमा बसेको राप्रपाको केन्द्रीय कार्यसमिति बैठकले साउन महिनाभित्र राष्ट्रव्यापी विरोध कार्यक्रम र भदौमा जनसंघर्षका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो।

महँगी नियन्त्रण नहुँदा, किसानलाई मल उपलब्ध गराउन नसक्दा र करको दर परिवर्तन गरी सीमित व्यवसायीलाई फाइदा दिलाएको आरोप लगाउँदै राप्रपाले गठबन्धनको सरकार असफल भएको दाबी गरेको छ।