
काठमाडौं । राहदानी (पासपोर्ट) लिनको लागि भोलि (मंगलबार) देखि प्रत्येक दिन ११ बजे अनलाइन आवेदन फाराम खुल्ने भएको छ । राहदानी विभागले एक सूचना जारी गर्दै मंगलबारदेखि दैनिक ११ बजेबाट अनलाइन आवेदन फाराम खुल्ने जनाएको हो।
यसअघि भने विभागले राहदानीको बहाल अवधि १ वर्षभन्दा बढी बाँकी रहेको अवस्थामा राहदानी नवीकरण नहुने तथा नयाँ राहदानीको लागि आवेदन गर्न नसकिने विभागले जनाएको थियो।
केही दिन पहिले विभागले यन्त्रवाचक राहदानी (एमआरपी) को बहाल अवधि १ वर्षभन्दा कम भएमा मात्र राहदानी नवीकरणको लागि विद्युतीय राहदानीमा आवेदन गर्न सकिने जनाएको थियो। राहदानीको बहाल म्याद ६ महिना भन्दा बढी भएमा अन्तर्राष्ट्रिय यात्रा गर्न सकिने हुन्छ।
राहदानी आफूलाई आवश्यक नहुँदाको अवस्थामा बहाल म्याद १ वर्षभन्दा कम वा बहाल म्याद समाप्त भएपनि तुरुन्त बनाउनु नपर्ने र यसरी नबनाउँदा कुनै अतिरिक्त शुल्क नलाग्ने भएकोले आफूलाई आवश्यक पर्दा मात्र राहदानी बनाउनको लागि आवेदन गर्न सकिने विभागले जनाएको हो।