
बुटवल स्थित एक होटलमा बास बसेका दुई जना मृत अवस्थामा फेला परेका छन् । बुटवलको तिनाउ पुल नजिकै फूलबारी चोकमा रहेको स्याङ्जा कारीकोटे होटलमा धादिङ घर भएका अन्दाजी ३५ वर्ष उमेरका सिताराम भुजेल र दाङ घर भएकी अन्दाजी ३३ वर्षकी पुष्पा बुढाथोकी मृत फेला परेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । उनीहरू होटलको कोठा नं १३४ मा मृत अवस्था फेला परेका हुन् । बिहान कोठामा ढोका खोल्दा नखुलेपछि झ्यालबाट हेर्दा मृत अवस्था देखेर होटेल सञ्चालकले खबर गरेको इलाका प्रहरी कार्यालय बुटवल प्रहरी निरीक्षक सन्तोष घिमिरेले बताए ।
उनले भने -‘हामी जाँदा महिला पलङमा उत्तानो परेको अवस्थामा र पुरुष कोठाको पङ्खामा झुन्डिएको अवस्थामा थिए । महिलाको हत्या गरेर केटाले आत्महत्या गरेको हुनसक्छ । उनीहरू श्रीमान् श्रीमती नभएकोले घटना शंकास्पद रहेको छ ।’
दुवै जनाको शव पोस्टमार्टम लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको र रिपोर्ट आउन बाँकी रहेको उनले बताए । घटनाको अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।