गठबन्धन रे, नामै कस्तो नराम्रो : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन नाम सुन्दै नराम्रो भएको भन्दै गठबन्धन दलले जनतालाई ढाँट्ने काम गरेको आरोप लगाए । बुधबार काठमाडौंमा भएको कार्यक्रममा बोल्दै उनले गठबन्धन दलले एमसीसीलाई पत्र लेखेको र लेखेको छैन भनेर ढाँटेको दावी गरे ।पहिला लेखेकै हैन भन्ने र पछि लेखेको पत्र आएपछि दाँत देखाएर हाँसेको दावी गरे । आफूले नेपाली काँग्रेसलाई ढोडको लौरो चाहिनेगरी लुलो भयो भनेको भन्दै उनले पछि काँग्रेसले आफू बिरामी भएर अरुको सहारामा हिँडेको फोटो छापेकाले आफूले शेरबहादुर देउवालाई बुढो भयो नभनेको उल्लेख गरे ।

उनले काँग्रेस अरुको साहारा बिना उभिन नसकेको उल्लेख गर्दै भने–‘अखडामा काँग्रेस अब एक्लै पस्न नसक्ने भयो । एमालेसँग त काँग्रेस अखडामा पस्नै नसक्ने भयो । मैले भनेको त्यो हो तर म हस्पिटलमा हुँदाखेरी अक्सिजन लिएर बसेको फोटो छापेर काँग्रेस बलियो छ भन्ने प्रमाणित हुन्छ ?’

चार पाँच जना साथीको पाखुरा नसमाती काँग्रेस यता उता गर्न नसक्ने अवस्थामा पुगेको उनले बताए । उनले काँग्रेस लुलो र विचार शून्य रहेको बताउँदै दिशाहीन रहेको दावी गरे । उनले देशमा एमालेले राम्रो काम गरेको देखेर त्यो काम रोक्न गठबन्धन गरेको बताए ।

यस्तै माओवादी केन्द्रलाई महान जनयुद्ध भनेर १७ हजार युवालाई मारेको, हिजो अपाङ्ग भएको, अंगभंग भएकाहरु कहाँ छन् थाहा नभएको र सबैलाई बेवास्ता गरेर चुनावको बेला झुट बोल्न सिपालु रहेको बताए ।  उनले गठबन्धन दलको ध्यान जहान परिवारलाई अघि बढाउन केन्द्रित रहेको बताउँदै एमाले भने सुखी नेपाल र समृद्ध नेपाल  बनाउन लागेको दावी गरे ।