नागरिक आफै सडकमा आएर सरकार फाल्नुपर्ने अवस्था आयो भने शुभसंकेत होइन’

नेपाली काँग्रेसका सांसद राजेन्द्रकुमार केसीले सरकारले कोरोना रोकथामका लागि प्रभावकारी काम गर्न नसकेको बताएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा विषेश समयमा बोल्दै सरकारले केही काम गर्न नसक्ने र १० अर्बको खर्च देखाउने गर्दा नागरिकहरु आफै सडकमा उत्रिएको बताएका हुन् ।

उनले नेपाल एयरलाइन्स चाटर्ड गर्ने नाउँमा ६–७ गुणा बढी पैसा पीडितबाट असुलेको आरोप समेत लगाए । सरकारका यस्ता गतिविधिबाट नागरिकहरु आफै सडकमा आई सरकार फाल्नुपर्ने अवस्था आयो भने लोकतान्त्रिक पार्टीका लागि शुभसंकेत नहुने बताए ।

उनले भने, ‘आज नेपाल एयरलाइन्सको प्लेन चार्टडको नाउँमा यहाँका ट्राभल एजेन्सीहरुबाट ६/७ गुणा भन्दा बढी पैसा असुली भइराखेको छ । यहाँ बोल्न नपर्ने सरकारले जनतालाई जे भनेपनि हुने जनताले सहिरहनु पर्ने फेरी हामी चुप लाग्नुपर्ने । अत्यन्त भयाभह अवस्था छ । यदि सडकबाट जनताले सरकार फाल्नु प-यो भने लोकतन्त्र पार्टीको लागि शुभसंकेत हुन्दैन स्थिति यो आइसकेको छ ।’

३३ किलो सुनकाण्ड, सेक्युरिटी प्रिन्टिङ प्रेस लगायतका विषयमा अझै छानविन नगरी बसेकाले सरकार पूर्णरुपमा भस्ट्राचारको संरक्षक भएको प्रमाणित भएको बताए । उनले भने ‘हामिले कहाँ सहयोग गरेनौं सेक्युरिटी प्रिन्टिङ प्रेसमा हामीले भन्यौं अहिले बेला होइन भनेर अहिले छताछुल्ल भएको छ । मन्त्रीले त ७० करोड रुपैयाँ माग्नुभयो भनेर आज राजीनामा गरेको अवस्था छ । यो सकरारको नैतिकता कहाँ छ ? अझ प्रतिपक्षले सहयोग गरेन प्रतिपक्ष अहिस्णु भयो भनेर भन्नुहुन्छ । लोकलाज त राखिदिनुहोस प्रधानमन्त्री ज्यू ।’

उनले सरकारले केहीपनि काम गर्न नसक्ने तर त्यसको दोश कांग्रेसलाई लगाउने गरेको बताए । उनले काम गर्न नसक्ने प्रधानमन्त्रीले प्रतिपक्षले काम गर्न दिएन भन्ने अभिव्यक्ति दिन लोकलाज मान्नुपर्ने बताए ।

उनले भने, ‘प्रधानमन्त्रीज्यू लोकलाज त राख्नुस कांग्रेसले कहाँ सहयोग गरेको छैन । हामीले भन्यौँ वाइडबडीमा भ्रष्टाचार भएको छ । महालेखापरीक्षकको वार्षिक प्रतिवेदनमा अनियमितता भएको छ । हामीले भन्यौँ हामी साढे चार अर्बको भ्रष्टाचार भएको छ तपाईं हेर्दिनुहोस् । प्रधानमन्त्री ज्यूले भन्नुभयो उहाँले फैसला दिनुभयो भ्रष्टाचार भएको छैन भनेर ।’