क्यानडामा चक्कु प्रहारका एक अभियुक्त मृत फेला, अर्का फरार

क्यानडाको प्रहरीले आइतबार विभिन्न स्थानमा छुरा प्रहार गर्ने दुई संदिग्ध आक्रमणकारीमध्ये एकजना मृत फेला परेको जनाएको छ । क्यानाडाको मध्य सास्काचेवान प्रान्तमा आक्रमणकारीमध्ये एक ३१ वर्षीय डेमियन स्यान्डरसनको शव जेम्स स्मिड क्री नेसनमा फेला परेको प्रहरीले जनाएको छ । आक्रमणमा परी ज्यान गुमाउनेहरूमध्ये धेरै यही ठाउँमा बस्छन् ।

पक्राउ परेका दुवै जना दाजुभाइ रहेको प्रहरीले जनाएको छ । यी मध्ये एक भाइ मिल्स स्यान्डरसन अझै फरार छन् । उनी रेजिना शहरमा नै छन् भन्ने अनुमान गरिएको छ । आइतबार यी दुईको चक्कु प्रहारमा कम्तीमा १० जनाको ज्यान गएको थियो भने १८ जना घाइते भएका थिए ।

दुबै संदिग्धहरूलाई अन्तिम पटक सास्काचेवानको राजधानी रेजिनामा देखाइएको थियो । तीनै प्रदेशका प्रहरी दुवैको खोजीमा जुटेका छन् । यी आक्रमणहरू विभिन्न १३ ठाउँमा भएका थिए । डेमियन र मिल्स दुवैलाई हत्याको आरोप लगाइएको छ ।

प्रहरीले मिल्स अझै फरार रहेको र जनता सचेत हुनुपर्ने बताएको छ । ३० वर्षीय मिल्सलाई पनि चोट लागेको हुनसक्ने र नजिकैका मानिसहरूबाट स्वास्थ्य सहायता लिन सक्ने प्रहरीको विश्वास छ । यद्यपि, मिल्सले आफ्नो भाइ डेमियनको हत्या गरेको हो वा होइन भनेर प्रहरीले खुलाएको छैन ।

मिल्सविरुद्ध विगत केही वर्षदेखि कैयौं आपराधिक मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आक्रमणपछि भने, ‘हाम्रो देशमा यस्ता खालको कुनै पनि हिंसाको लागि ठाउँ छैन ।’