दिगो विकासका लक्ष्य पूरा गर्न १९ अर्ब डलर चाहिन्छ : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले दिगो विकासका लक्ष्य पूरा गर्न १९ अर्ब डलर आवश्यक रहेको बताएका छन्। लगानी बोर्डको सस्टेनेबल इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट फोरमलाई सम्बोधन गर्दै देउवाले उक्त कुरा बताएका हुन्।

सन् २०४५ सम्म कार्बन उत्सर्जन शून्यमा झार्ने राष्ट्रिय नीति तथा योजना रहेको बताउँदै उनले दिगो विकासका लक्ष्य पूरा गर्न १९ अर्ब डलर आवश्यकता पर्ने बताए।

“सरकारले १५ औँ पञ्चवर्षीय योजनालाई प्राथमिकता दिएर पूर्वाधार विकासलाई प्राथमिकता दिएको छ । सरकारले राष्ट्रिय नीति बनाएर २०४५ सम्म कार्बन उत्सर्जन शून्यमा झार्ने योजना बनाएको छ,” देउवाले भने, “कोभिड महामारीका कारण दिगो विकासका लक्ष्य पूरा गर्न १९ अर्ब डलर आवश्यक रहेको छ।”

देउवाले नेपाललाई सन् २०२६ सम्म विकासोन्मुख राष्ट्रमा स्तरोन्नति गर्ने बताए। बुधबार लगानी बोर्डको दिगो पूर्वाधार लगानी फोरमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले पूर्वाधार विकास र आर्थिक स्तरोन्नति गर्दै सन् २०२६ सम्म विकासोन्मुख राष्ट्रमा स्तरोन्नति गर्ने बताए।

प्रधानमन्त्री देउवाले त्यसको लागि निजी क्षेत्र तथा वैदेशिक लगानीकर्ताको सहयोगको आवश्यकता रहेको औँल्याए। उनले मुलुकमा पूर्वाधार विकासमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको भन्दै लगानी बढाउन आग्रह गरे।

नेपालमा सार्वजनिक निजी साझेदारी मोडलमा ठूलो लगानी गर्न सकिने अवस्था रहेको बताउँदै प्रधानमन्त्री देउवाले लगानी बोर्डले ३३ वटा आयोजनाको लागि ९ अर्ब डलर बराबरका योजना स्वीकृत गरेको भन्दै जसमध्ये २० वटा ठूला जलविद्युत परियोजना रहेको बताए।

“लगानी बोर्डले लगानीको क्षेत्रमा लगानी गर्ने लगानीकर्तालाई सहजता प्रदान गर्नेछ,” देउवाले भने, “लगानी बोर्डले ३३ वटा आयोजनाको लागि ९ अर्ब बराबरको डलरका आयोजना स्वीकृत गरेको छ । जसमा २० वटा ठूला जलविद्युत परियोजना रहेका छन् ।”